६ चैत्र २०८०, मंगलवार
Follow Us

‘कांग्रेसमा गुट उपगुट हुनु स्वभाविक’

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७५, शुक्रबार ०६:४०

जीवन परियार, केन्द्रीय सदस्य नेपाली कांग्रेस

नेपाली कांग्रेसभित्र महासमिति बैठकलाई लिएर नेतृत्वले छलफललाई तीब्रता दिएका छन् । तर कांगे्रसभित्र विभिन्न गुटमा यस्तो छलफल चलाइको छ । कांग्रेस महासमिति बैठक नजिकिँदै गर्दा विधान संशोधन समिति त्यत्ति सक्रिय देखिएको छैन । यसैबीचमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलगायतका विषयमा सच्चाउनु पर्ने भन्दै केही युवा नेताहरु छुटै छलफलमा व्यस्त भए । यस्ता भेला वा बैठकले पार्टी अघि बढ्न सहज हुँदैछ कि अप्ठ्यारा परिस्थिति सिर्जना हुँदैछन । यसै सन्दर्भमा कांगे्रस केन्द्रीय सदस्य जीवन परियारसँग गरेको कुराकानी–

० गुटगत भेलाको संकेत के हो ?
– पार्टी सभापतिविरुद्ध वा पार्टीविरुद्ध कुनै पनि समूहगत भेला भएको छैन । महासमितिको बैठक आउँदैछ, विधान मस्यौदा पारित गर्ने, राजनीतिक प्रस्ताव पारित गर्नेलगायत आर्थिक प्रस्ताव महासमितिमा प्रस्तुत हुँदैछ । महासमिति बैठकको तयारीका सिलसिलामा विभिन्न चरणमा छलफलहरु औपचारिक र अनौपचारिक हुने गरेका छन् । त्यसै सन्दर्भमा बैठक बसेको हो, कुनै गुटगत भेला भएको छैन ।

० सुजता निवासमा बेग्लै भेला, त्यसको भोलिपल्ट तपाईंको छुट्टै भेला भयो । यसलाई के भन्ने ?
– सुजाता दिदीको निवासमा पार्टी शीर्ष नेताहरु बसेर छलफल गरेको कुरा र हामी युवा केन्द्रीय सदस्यहरु बसेर छलफल गरेको प्रसँग हो । यो संयोग त्यस्तो पर्न गएको मात्र हो । हाम्रो पूर्वानिर्धारित बैठक हो, शीर्ष नेतृत्वको पनि पूर्वानिर्धारित नै हुनुपर्छ ।

० तपाईंहरुको छुट्टै भेला केका लागि ?
– पार्टीका छ जना केन्द्रीय सदस्य बसेका हौं, यो कुनै भेला होइन । विगतदेखि नै १०–१२ जना साथीहरु हामी बस्दै आएका छौं । यो सबैलाई जानकारी भएको विषय हो । आगमी महासमिति बैठकको सन्दर्भमा केही साथीहरु हामी बसेका हौं, अन्य साथीहरुसँग पनि बस्ने हाम्रो तयारी छ । महासमितिमा हामी कसरी अगाडि जान सकिन्छ, कसरी आफ्नो भूमिका निर्वाह गर्ने, पार्टीलाई विधातः कसरी अगाडि बढ्छ, विधानमा थप के सुझाव आवश्यक पर्छ, राजनीतिक प्रस्तावमा थप नयाँ के कुरा उठाउनुपर्छ, आर्थिक प्रस्तावमा के लैजानुपर्छ भन्ने लगायतका विषयमा हामीले छलफल गर्न बैठक आयोजना गरिएको थियो ।

० पार्टीभित्र गुटउपगुट मौलाउन थालेको होइन ?
– जीवन्त पार्टीमा विचार समूह हुने कुरा अथवा विभिन्न गुट हुने कुरा अस्वभाविक होजस्तो लाग्दैन । प्रजातान्त्रिक परिपार्टीमा जुनसुकै राजनीतिक दलहरुमा यस्ता समूहमा फरक विचार आउनु स्वभाविक हो । गुटबन्दी बढी भयो भन्ने कुरा सञ्चारमाध्यममा आउने गरेको छ । लोकतान्त्रिक पार्टीमा समूहगत छलफल भयो भन्दैमा गुटउपगुट भन्नु हुँदैन ।

० पार्टी निर्णयमा समूहगत निर्णय आउनुलाई कसरी बुझ्ने ?
– कुनै सैद्धान्तिक विषयमा फरक विचार र धारणा आउनुलाई अस्वभाविक मान्नु हुँदैन । पार्टीले निर्णय गर्ने सन्दर्भमा बहुमतले निर्णय पारित गर्ने विधि तय गरिएको छ । विधान चाहिँ महासमितिले दुई तिहाईले पारित गर्ने प्रावधान छ । यस्तो अवस्थामा विभिन्न विचार आउने कुरालाई अस्वभाविक लिनु हुँदैन । यसलाई सहजरुपमा लिनुपर्छ ।

० यो विषयलाई लिएर कोही चिन्तित हुनु पर्दैन ?
– देशभरिका आम जनता र कार्यकर्ताले नेपाली कांगे्रसमा भएको बहस सुन्न पाउनु भएको छ । उहाँहरुले धारणा बनाउन पाउनुभएको छ । के उपयुक्त हो, के अनुपयुक्त हो, के गर्दा ठीक हुन्छ, के गर्दा ठीक हुँदैन भन्नेलगायतका विषयहरुमा आम जनता र कार्यकर्ताले धारणा बनाउन पाउने अवसर पनि हो । यसको अर्थ फरक–फरक धारणा सार्वजनिक गर्नुपर्छ भन्ने होइन, कतिपय विषयमा एउटै धारणा पनि हुनसक्छ । त्यसकारण फरक–फरक धारणा आयोभन्दैमा पार्टी सकिनै लाग्यो, गुटबन्दीले पार्टी सिध्यायो भन्ने ढंगका जुन तर्क बाहिर आउँछन् त्यसबाट आत्तिनुपर्दैन । हामीले पार्टी बलियो बनाउनैपर्छ, एकरुपता ल्याउनैपर्छ, पार्टी एक ढिक्का भएर जानुपर्छ । यसर्थ कुनै पनि नेतासँग यस विषयमा दुविधा छ भन्ने मलाई लाग्दैन ।