७ बैशाख २०८१, शुक्रबार
Follow Us

वैदेशिक रोजगारमा कामदार पठाउने मुलुकको मन्त्रीस्तरीय छलफल

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७५, शुक्रबार ०७:०५

काठमाडौं । आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध एसियाका १२ मुलुकको छैटौँ बैठकमा आज मन्त्रिस्तरीय छलफल हुँदैछ । मन्त्रिस्तरीय परामर्श बैठकको प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।

बैठकको अध्यक्षता भने अध्यक्ष मुलुकको श्रम मन्त्रीको हैसियतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नेछन् ।बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता ‘जिसिएम’ र कोलम्बो प्रोसेसबिचको अन्तरसम्बन्ध, जिसिएम कार्यान्वयनका सन्दर्भमा विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषयमा छलफल हुनेछ ।

बिहीबार बसेको सचिवस्तरीय बैठकले मन्त्रिस्तरीय परामर्श बैठकको कार्यसूचि, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिश गरिसकेको छ । आज सम्पन्न हुने बैठकले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, थाइल्याण्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य राष्ट्र हुन् । सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ ।