१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानन्यायाधीश मिश्र रारा शयरमा

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७५, शुक्रबार १२:२८

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र शुक्रबार बिहानै उच्च अदालतको इजलासको निरीक्षण भन्दै परिवारसहित हेलिकप्टर चढेर रारा घुम्नमा गएका छन् । उनले उच्च अदालत सुर्खेत र जुम्ला इजलास निरिक्षण भन्दै श्रीमती, छोरी, ज्वाइँ र भतिजो र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको परिवारलाई लिएर घुम्न निस्किएका हुन् ।

अदालत अनुगमनका लागि परिवारसाथै आफु नजिकका मान्छेलाई लिएर जाने चलन नभएपनि प्रधानन्यायाधीश मिश्र परिवारसहित रारा भ्रमणमा निस्किएका हुन् । जिल्ला अदालतहरुको भ्रमणका लागि प्रधानन्यायाधीश, अदालतका कर्मचारी र मातहत उच्च अदालतमा न्यायाधीश सानो संख्यामा जाने चलन थियो । तर मिश्रले १६ जनाको जम्बो टोली बोकेर सर्वोच्च अदालतको खर्चमा घुम्न निस्केका हुन् ।

हुन त यसअघि पनि कामु प्रधानन्यायाधीश रहेको बेला दीपकराज जोशीले पनि पेशी तोकेर सेनाको हेलिकप्टरमा परिवारसहित दोलखाको भीमेश्वर दर्शन गर्न गएका थिए । जोशीले जस्तै मिश्रले पनि आफ्नो कार्यकाल डेढ महिना बाँकी हुँदा मितव्ययीतालाई मिचेर परिवारसहित अदालतको कर्मचारी बाहेकका व्यक्तिलाई लिएर भ्रमण गराएका छन् ।

रारा जानुअघि प्रधानन्यायाधीश मिश्रले सहकर्मी न्यायाधीशहरुलाई पेशी तोकेर हिडेका थिए । शुक्रबार दिउँसो ३ बजेसम्म अदालतको इजलास हुने भएकाले अन्य न्यायाधीशलाई उनले पेशी तोकेर हिडेका हुन् ।

सेनाको होलिकप्टरमा गएको मिश्र टोली सुर्खेत रारा हुँदै जुम्ला पुगेर आजै ३ः४५ मा फर्कने कार्यक्रम रहेको छ । विहान ६ः३० बजे हिडेका प्रधानन्यायाधीश मिश्र सेनाको हेलिकप्टरमा सुर्खेत, रारा ताल हुँदै जुम्ला पुगेर ३४५ बजे फर्कने कार्यक्रम रहेको छ ।

उनको टोलीमा उनको परिवारको साथमा सहप्रवक्ता नागेन्द्र कालाखेती, मुख्य रजिष्ट्रार राजन भट्टराई, भट्टराईकी श्रीमती करुणा, रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायकी श्रीमती र निजी सचिव खड्ककृष्ण पोखरेल लगायतका छन् ।