१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रियसभा सदस्य पासमान माथि कुटपिट

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०७५, शुक्रबार १२:५६

सर्लाही । राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि आज उहाँकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उहाँले बताउनुभयो । उहाँको शरीरमा चोट लागेको बताइएको छ ।

राष्ट्रियसभा सदस्य पासमान माथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ । यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।