१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा मन्त्रीहरूकाे राजीनाको लहर

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७५, शुक्रबार १६:३२

लन्डन – युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतमा कैयौं मन्त्रीले राजीनामा दिएका छन्।

प्रधानमन्त्री थेरेमा मेले बुधबार प्रस्तुत गरेको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै युरोपेली युनियनबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले राजीनामा दिएको छन् । मन्त्री राबले राजीनामा दिएको एक घण्टाभित्रै रोजगार तथा पेन्सन मन्त्री यस्थर म्याकभेले पनि राजीनामा दिएका छन्।

राब र म्याकभेले राजीनामा दिनुअघि ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै उत्तरी आयरल्यान्डका राज्यमन्त्री सैलेस वाराले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसैगरी बे्रक्जिट राज्यमन्त्री सुयल्ला ब्राभरम्यान र संसदीय निजी मन्त्रीहरु याने–मारी ट्रेभेल्यान र रनिल जयावर्देनाले समेत पदबाट राजीनामा दिएको बिबिसीले जनाएको छ ।

ब्रेक्जिट मन्त्री राबले प्रधानमन्त्री मेले प्रस्तुत गरेको मस्यौदालाई आफूले समर्थन गर्न नसक्ने बताउँदै पदबाट राजीनामा दिएको बताएका छन् । उनी यसअघिका बे्रक्जिट मन्त्री डेभिड डेभिसले राजीनामा दिएपछि केही महिना अघि ब्रेक्जिट मामिला मन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री मेले बुधबार प्रस्तुत गरेको ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउने वरिष्ठ मन्त्रीमध्ये राब एक हुन् । सम्झौताले बेलायतलाई आधा बाटोमा छोड्ने र सार्वभौम राष्ट्र बन्नबाट रोक्ने भन्दै उत्तरी आयरल्यान्डका राज्यमन्त्री वाराले पदबाट राजीनामा दिएको बिबिसीले उल्लेख गरेको छ।

बढ्दो असन्तुष्टिपछि युरोपेली रिसर्च ग्रुप अफ टोरीका सांसदहरुले प्रधानमन्त्री मेविरुद्ध अविश्वास प्रस्ताव गर्ने तयारी गरेको बिबिसीले उल्लेख गरेको छ।

प्रधानमन्त्री मेले देशको संसद्मा बेलायती नागरिकले ब्रेक्जिट होस् भनेर चाहेकाले आफूले त्यसैअनुरुपको मस्यौदा प्रस्ताव तयार पारेको बुधबार बताएकी थिइन् । पछिल्लो राजनीतिक घटनाक्रमसँगै बेलायती मुद्राको मूल्य एक प्रतिशतले घटेको बिबिसीले उल्लेख गरेको छ।

बेलायतका प्रमुख प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कर्बिनले प्रधानमन्त्री मेले प्रस्तुत गरेको मस्यौदा असफल सम्झौता भएको र त्यसले सरकारले आफ्नो लागि आफैले रातो घेरा निर्माण गरेको बताएका छन्।

प्रधानमन्त्री मेले युरोपेली युनियनबाट बाहिरिने सम्झौताबारेको सो मस्यौदा बुधबार साँझ सार्वजनिक गरेकी थिइन् । राब, म्याकभेले र वारा र अन्य मन्त्रीको राजीनामासँगै मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि राजीनामा दिने दबाव परेकाले मन्त्री परिषद् नै अप्ठ्यारोमा पुगेको बताइएको छ । तर प्रधानमन्त्री थेरेसा मेले भने ब्रेक्जिट सम्झौताको मस्यौदालाई आफ्नो मन्त्रिपरिषद्ले समर्थन गरेको र राष्ट्रको हितमा रहेको दाबी गरेकी छन्।

लामो समयदेखिको पटकपटकका छलफलपछि युरोपेली संघबाट बेलायत बाहिरिनेसम्बन्धी सम्झौताको मस्यौदा बेलायतको मन्त्रिपरिषद्ले बुधबार पारित गरेको थियो । महिनौंदेखि अन्योलमा रहेको सम्झौताबारे बेलायतको मन्त्रिपरिषद्ले पारित गरेको ब्रेक्जिट सम्झौतासम्बन्धी मस्यौदालाई अन्तिम रूप दिन अब २७ सदस्य रहेको युरोपेली संघकाका नेताहरूको शिखर बैठक बोलाइने छ ।
यही महिना हुने अनुमान गरिएको सो शिखर बैठकले बेलायती प्रधानमन्त्री मेले प्रस्तुत गरेको सम्झौताको मस्यौदा अनुमोदन गर्नुपर्नेछ । त्यसपछि पनि सो सम्झौतालाई बेलायतको संसद् तथा युरोपेली संसद्बाट पारित गर्नुपर्नेछ । यी सबै प्रक्रियाहरु पूरा गरेपछि सन् २०१९ को मार्च महिनादेखि बेलायत औपचारिक रूपमा युरोपेली संघबाट बाहिरिने छ।