१३ बैशाख २०८१, बिहीबार
Follow Us

तमूधीं यूकेको नयाँ नेतृत्वका चुनौती

नेपालब्रिटेन डट कम्
१ मंसिर २०७५, शनिबार १३:४९

प्रकाश के.सी.। लण्डन । बेलायतको एक विशाल अनि सशक्त संस्था तमू धीं यूकेको जिम्मेदारी लिन यसको दशौं कार्यकालको लागि निर्विरोध रुपमा नन्दजंग गुरुङ चुनिएका छन् । २१ कार्यकारी समितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका जन्दजंग गुरुङ, तमू धीं यूकेको नेतृत्व गर्ने नवौं अध्यक्ष हुन् ।

नेपालमा राष्ट्रि«य गुरुङ (तमू) परिषद सन् २०००मा लगभग दर्जन जतिका विविध गुरुङ समुदायहरुलाई एकवद्ध गर्दै स्थापना भएको हो र त्यसको लहर संसारभरि बसोबास गर्ने गुरुङ समुदायमा तत्कालीन रुपमा आएको भए तापनि तमू धीं यूकेले सन् ९८मा बेलायतमा आयोजना गरिएको एक फुटबल खेलको प्रतियोगिताको आयोजनामा भएको सफलताले संस्थाको आयोजना गर्ने कार्यको शुरुवात भएको र जसलाई पूर्णता गर्दै सन् २०००को ल्होसार मनाउने क्रममा बेलायतको फार्नबोरोहमा रहेको गुर्खा भिलेज रेष्टुरेन्टमा जम्मा भएका गुरुङहरुबाट सोही रेष्टुरेन्टको मालिकमध्ये एक मीन प्रसाद गुरुङको अध्यक्षतामा तमू धी एस्सोसिएसन यूकेको स्थापना भएको हो । हालसम्म संस्थापक अध्यक्ष(२०००—०४), मेजर डम्बर घले (२००५—०६), मेजर लाल बहादुर गुरुङ (२००७—०८), सुवासिङ गुरुङ (२००९—१०), मुछेत्र गुरुङ (२०११—१२), कमल गुरुङ (२०१३—१४), सुर्जे (रामचन्द्र) गुरुङ (२०१५—१६) र ज्ञाम बहादुर गुरुङ (२०१७—१८)ले तमू धीं यूकेको सफल नेतृत्व गरिसकेका छन् ।

तमूहरुका आफ्नो संस्कृति, कला, पहिरनलगायत भाषा आदिलाई जगेर्ना गर्ने आसयले स्थापित सो संस्थाले बिस्तार रुपको फुटबल खेलको प्रतियोगिता गुर्खा कप सन् २००० देखि शुरु गरेको हो । बेलायतका विभिन्न स्थानहरुमा रहेको नेपाली समुदायहरुको युवाहरुलगायत भूपू गुर्खाहरुका टोलीहरुका विभिन्न समूहरुबीच हुन थालेको गुर्खा कप हरेक वर्ष गर्दै लोकप्रियताको शिखर चढ्दै गएपछि भने सन् २००७ मा विधिवत अनि वैधानिक रुपमा तमू धीं यूके एक च्यारिटेबल संस्थाको रुपमा बेलायतमा दर्ता भएको हो ।

एक स्वतन्त्र रुपको गैरराजनीतिक, गैरधार्मिक, गैरनाफामूलक अनि भेदभावरहितको संस्थाको प्रयायमा बेलायतको इंल्याण्ड र वेल्सको कम्पनी एक्टअनुसार संस्था दर्ता गरी सबै नेपाली समुदायहरुलाई संस्थामा समाहित हुन खुल्ला गरेको भए तापनि पूर्ण रुपमा तमूहरुकै आफ्नै संस्थाको रुपमा बेलायती नेपाली समाज एक सशक्त अनि लोकप्रिय संस्थाको रुपमा स्थापित भएको छ तमू धीं यूके, जसले नेपाली विविध जातजाति तथा विविध भेषभुषालगायत संस्कृतिहरुको विविध नेपाली समुदायहरुमा जगेर्ना गर्नलाई अभिप्रेरित तथा जागरण गराउनेहेतु सन् २००९ बाट लण्डनमा नेपाली मेलाको आयोजना गर्दै आएको छ जुन अर्को लोकप्रिय नेपाली इभेन्ट हो ।

बेलायतमा बसोबास गर्दै आएका लगभग ४०००० जतिका तमूहरुलगायत अस्पुष्ट जानकारीअनुसार एक लाखभन्दा ज्यादा नेपालीहरुमाझ सामाजिक विविध कार्यहरुमा आफ्नो दह्रिलो आडको रुपमा विद्यमान बन्दै आएको संस्था तमू धीं यूकेमा हुने नेतृत्व परिवर्तनले समाजमा चासोको विषय बन्दछ । नन्दजंग गुरुङ आफ्नो कार्यकालमा कति सजिलो तथा कति लचिलो हुन्छन्, या विशेषतः कतिको जातिविशेष बन्दछन् भन्ने पनि अर्को चासोको विषय बन्नेछ समाजमा ।

गैरआवासीय नेपाली संघको बेलायत शाखा वास्तवमा नै जातिविशेष, राजनैतिक पार्टीविशेष वा क्षेत्रविशेष नभए तापनि गुरुङ, मगर, राई तथा लिम्बूहरुका जातिगत संस्थाहरुको प्रभावले सो संस्थामा दक्षता हासिल गर्दछ । त्यसैले तमू धीं यूकेको नेतृत्व गर्नेहरुले पछिल्लो चरणमा गैरआवासीय नेपाली संघको बेलायत शाखाको नेतृत्व गर्ने पक्कापक्की नै हुन्छ, जसले आम रुपमा आम बेलायती नेपालीहरुसँग प्रत्यक्ष सरोकार राख्न सक्दछ ।

नन्दजंग गुरुङले बेलायतको नेपाली समाजमा लोकप्रियता हासिल गरेर विशाल बनेको आफ्नै भवन भएको संस्था तमू धीं यूकेलाई आफ्ना २१ सदस्यीय कार्यकारी समितिद्वारा नेतृत्व गर्दैछन् । लोकप्रियताले शक्ति प्रदान गर्दछ र सोही शक्तिले शक्तिशाली बनाउँदछ संस्थालाई र निसन्देह रुपमा शक्तिले जिम्मेदारी वोध पनि गराउँदछ, अतः नन्दजंग गुरुङको दुई वर्षे कार्यकालको आगामी दिनमा तमू धीं यूके, जिम्मेदार एक सशक्त संस्थाको रुपमा अझ सशक्त अवस्थामा सञ्चालित रहोस् भन्ने आम चाहना रहेको छ ।