१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मधेसी मोर्चाको माग औचित्यहीन : अध्यक्ष ओलीको प्रतिवदेन

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७३, बुधबार १३:०३

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओलीले वर्तमान सरकारले एमालेलाई मधेसी, जनजाति तथा भारतविरोधी शक्तिकोरुपमा परिभाषित गरेको भन्दै त्यसकाविरुद्ध भन्डाफोर अभियान चलाउनुपर्ने उल्लेख गरेका छन् ।

यस्तै, मधेसी मोर्चाले उठाएको संविधान संशोधनको माग पनि औचित्यहीन रहेको भन्दै ओलीले निश्चित आधार र औचित्यबिना संविधान संशोधन गर्न नसकिने स्पस्ट पारेका छन् ।

केन्द्रीय कमिटी बैठकको सुरुमा आफ्नो भनाइ राख्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारका कारण मुलुकको राजनीति गलत बाटोमा अघि बढेको भन्दै त्यसविरुद्ध खबरदारी अभियान चलाउनुपर्ने बताए ।

उनले भारत भ्रमणक्रममा प्रधानमन्त्री दाहालले गरेका सम्झौताले परराष्ट्र सम्बन्धमासमेत गम्भीर नकारात्मक असरपर्ने धारणा राखे । बैठकमा पेस गरिएका प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई वितरण गरिएको छ । केन्द्रीय सदस्यहरुले अध्ययन गरिसकेपछि प्रतिवेदनबारे विहीबारदेखि छलफल आरम्भ हुनेछ ।