७ बैशाख २०८१, शुक्रबार
Follow Us

शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह

sarusaru
३ मंसिर २०७५, सोमबार ०३:०२

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा आज निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षालाई उत्पादन र उत्पादनलाइ समृद्धिसँग जोडेमात्र मुलुकको विकासले गति लिने बताए ।

मन्त्री पोखरेलले बर्दिवास नगरवासीलाइ अपिल गर्दै भने, “तपाईंहरु प्राविधिक शिक्षाको पठनपाठनको व्यवस्थापनमा जुट्नुहोस् ।” मुलुकमा शिक्षाको मात्रात्मक विकास मात्रै भएको उल्लेख गर्दै मन्त्री पोखरेलले अगाडि भने “अब यसले पुग्दैन, गुणात्मक शिक्षातर्फ अग्रसर हुनुहोस् ।” श्रमलाई सीप, सीपलाई शिक्षा र प्रविधिसँग जोडे मात्र मुलुकमा समृद्धि आउने मन्त्री पोखरेलको थप भनाइ थियो ।

सामुदायिक विद्यालयको अवस्था खस्किएकाले अब यसलाई उकास्न स्थानीय पहलकदमी बढ्नपर्ने पोखरेलको भनाइ छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना नगरे अब स्थानीय तह पनि कारवाहीको भागिदार हुने मन्त्री पोखरेलले स्थानीय प्रतिनिधिको ध्यानाकर्षण गराए ।

नयाँ सञ्चालनमा आएको बर्दिवास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयले प्रदेश नं २ कै प्रतिनिधित्व गर्ने र दक्षजनशक्ति उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइएको छ।

यस शिक्षालयमा पाँच विषयमा पठनपाठनको व्यवस्था गरिएको शिक्षालयका प्रमुख दुःखीराम महराले जानकारी दिए। डिप्लोमा सिभिल इञ्जीनियर, सर्भे इञ्जीनियर, वन विज्ञान, होटेल म्यानेजमेण्ट, डिप्लोमा फुड एण्ड डेरी टेक्नोलोजी पठनपाठन हुने प्रमुख महराको भनाइ छ।
डिसी नेपाल