सुरेश किरण ।
काठमाडौं । हिजै मात्र हो, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई बाटोमा भेटेँ । नभेटेको पनि धेरै भइसकेको थियो । उहाँलाई अक्सर साइकल चढेर हिँडिरहेको देख्थेँ । तर, हिजो उहाँ गाडीमा सवार हुनुभएको रहेछ । अगाडि उहाँको गाडी, पछाडि परिवारको अर्को गाडी । दुईपांग्रे साइकलमा हिँड्ने मान्छेलाई अचानक दुइटा गाडीमा हिँडेको देखेपछि जो पनि छक्क परिहाल्छन् । म पनि परेँ ।

“ओहो मन्त्रीज्यू, आजचाहिँ गाडीमा ?” मैले सोधिहालेँ ।

“हो त, हें हें हें।” उहाँले संक्षिप्त उत्तर दिनुभयो, “समृद्धिको फल हो ।”

“समृद्धि ? कस्तो समृद्धि मन्त्रीज्यू ?” मैले कुरा बुझिनँ ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले सधैँभरि समृद्धिको कुरा गर्नुहुन्थ्यो नि । त्यसैको? नतिजा हो यो । वास्तवमा समृद्धि भनेको के हो भन्ने देखाउन मैले यो गाडी लिएको हुँ ।”

“अब गाडीले कसरी बताउँछ त समृद्धिबारे ?” मैले पूरक प्रश्न राखेँ ।

मन्त्रीज्यूले भन्नुभयो, “हेर्नुस्, प्रधानमन्त्रीज्यू समृद्धिको कुरा गर्दै हुनुहुन्छ, मैले चाहिँ साइकल चढ्न थालेँ भने जनताले के भन्ला ? आफ्नै मन्त्रीलाई त एउटा गाडी दिन नसक्ने प्रधानमन्त्रीले जनतालाई कहिले पो गाडी देला, भन्छ कि भन्दैन ? जनताले त्यस्तो भन्नै नपाओस् भनेर पनि मैले यो गाडी लिएको हुँ ।”

मैले भनेँ, “तपाईंले गाडी चढेपछि समृद्धि आएको पुष्टि हुन्छ ?”

“किन हुँदैन ?” मन्त्रीज्यूले भन्नुभयो, “हिजोसम्म साइकल चढेर हिँड्ने मान्छे आज गाडीमा गुड्न थालेको छ । ल हेर, भनेर मलाई देखाएपछि त समृद्धि आएको पुष्टि नै भयो नि । भएन र रु म हिँडेँ, बाँकी कुरा पछि गरौँला ।” मन्त्रीज्यू खर्रर अगाडि बढ्नुभयो । म त्यहीँ बसेर उहाँको पुरानो साइकल सम्झिन थालेँ ।