१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी राष्ट्रपति ओबामा र परराष्ट्रमन्त्री डा महतबीच भेट

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७३, बुधबार १६:०९

अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ ।
परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसंघको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा हाल संयुक्त राज्य अमेरिकामा हुनुहुन्छ ।
संयुक्त राष्ट्रसंघको ७१ औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार साँझ न्युयोर्कमा आयोजना गर्नुभएको स्वागत समरोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा महतको भेट भएको हो ।
यसैबीच सोही समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अमेरिकी विदेशमन्त्री जोन केरीबीच संक्षिप्त कुराकानी भएको छ ।
त्यस क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको न्युयोर्कबाट मन्त्री डा महतले जानकारी दिनुभयो ।
कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफू नेपाल जान इच्छुक रहेको र यसअघि पनि आफूले नेपाल जाने योजना बनाएकोमा परिस्थितिबस स्थगित भएको जानकारी गराउनुभएको थियो ।
त्यस क्रममा मन्त्री डा महतले आफूले नेपाल भ्रमणका लागि विदेशमन्त्री केरीलाई आमन्त्रण गरेको र केरीको नेपाल आगमन हामी सबै नेपालीका लागि खुसीको कुरा भएको बताएको जानकारी दिनुभयो ।
सो क्रममा परराष्ट्रमन्त्री डा महतले अन्य अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरुसँग पनि कुराकानी गर्नुभएको थियो ।