४ बैशाख २०८१, मंगलवार
Follow Us

रियो ओलम्पिकको खर्च १ करोड १६ लाख

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७३, बिहीबार ०५:२७

काठमाडौं । ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औँ ग्रीष्मकालीन ओलम्पिकमा नेपाली टोलीको कुल खर्च एक करोड १६ लाख ६४ हजार रुपैयाँ भएको देखिएको छ । तर, नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिकमा आफूहरूको ९८ लाख ६४ हजार रुपैयाँ मात्र खर्च भएको दाबी गरेको छ । २९ सदस्यीय नेपाली टोली रियो ओलम्पिकमा सहभागी भएको थियो । टोलीमा सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, सात खेलाडी, पाँचै खेलका पाँच प्रशिक्षक, दुई खेलकुद पत्रकार र बाँकी १२ जना एनओसीकै पदाधिकारी थिए ।

एनओसी र परिषद्को धारणा फरक
एनओसीको बुधबार बसेको बैठकमा कोषाध्यक्ष रतनकुमार टण्डनले रियो ओलम्पिकको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २९ जनाका लागि ९८ लाख ६४ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख रहेको बैठकमा सहभागी एक पदाधिकारीले नयाँ पत्रिकालाई जानकारी दिए । यद्यपि प्रतिवेदन बुझाए पनि कोषाध्यक्ष टण्डनले केही खुलाउन चाहेनन् भने अध्यक्ष जीवनराम श्रेष्ठले सबै जानकारी टण्डनसँग रहेको बताए । परिषद्ले रियो ओलम्पिकका लागि १८ लाख बजेट छुट्याएको थियो । ‘परिषद्ले रियो ओलम्पिक शीर्षकमा १८ लाख बजेट छुट्याएको थियो,’ परिषद्को आर्थिक विभाग स्रोतले बतायो ।

टिकटमा मात्र ४४ लाख
काठमाडौंदेखि रियो दी जेनेरियोसम्मको दुईतर्फी टिकटका लागि एनओसीले लगभग ४४ लाख खर्चेको स्रोतले बतायो । सदस्यसचिव केशवकुमार विष्ट, सात खेलाडी र पाँच प्रशिक्षकको खर्च आफूहरूले नै गरेको परिषद्को उच्च स्रोतले जानकारी दिएको छ । ‘रियोमा परिषद्ले नै सदस्यसचिव, खेलाडी र प्रशिक्षकको टिकटदेखि दैनिक भत्तासम्म उपलब्ध गराएको थियो,’ स्रोतले भन्यो ।

दैनिक भत्ता ४० डलर
एनओसीले आफ्ना पदाधिकारीलाई दैनिक ४० डलर भत्ता दिएको थियो । एनओसीले खेलाडी र प्रशिक्षकलाई भत्ताका रूपमा जनही ३२ हजार रुपैयाँ दिएको थियो । भिलेजमा बसेको दिनका आधारमा पदाधिकारीले दैनिक भत्ता बुझेका थिए । एनओसीले दुई खेल पत्रकारलाई पनि दैनिक भत्ता उपलब्ध गराएको थियो । यसैगरी, परिषद्ले खेलाडी र प्रशिक्षकलाई भ्रमणका लागि २५ हजार नौ सय र डाइटका लागि १३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

एनओसीद्वारा थप १४ लाख माग
एनओसीले रियो ओलम्पिककै नाममा परिषद्सँग थप १४ लाख माग गरेको छ । एनओसीले परिषद्मा रकम निकासीका लागि निवेदन दिएको छ । परिषद्ले एनओसीको निवेदन ‘पेन्डिङ’मा राखेको परिषद् स्रोतले बताएको छ । ‘एनओसीले रियो ओलम्पिक बजेट अपुग भयो भनी हामीहरूसँग थप १४ लाख मागेको छ,’ स्रोतले भन्यो, ‘अहिले त्यो विषयमा कुनै टुंगो लागेको छैन ।’

१४ जना एनओसी प्रतिनिधि
जीवनराम श्रेष्ठ (अध्यक्ष), ज्योति राणा (उपाध्यक्ष), लामा टेन्डी शेर्पा (महासचिव), रतनकुमार टण्डन (कोषाध्यक्ष), सुजनलाल श्रेष्ठ, (एनओसी स्टाफ) र राजन श्रेष्ठ (एनओसी स्टाफ), सदस्यहरू निलेन्द्रराज श्रेष्ठ, अशोकरत्न बज्राचार्य, रमेशकुमार श्रेष्ठ, समिम मियाँ अन्सारी, दीपकहर्ष बज्राचार्य र चिकित्सक डा. सरोजकृष्ण श्रेष्ठ । अध्यक्ष श्रेष्ठले आफ्नी पत्नीलाई पनि एनओसीकै कोटामा रियो लिएर गएका थिए ।
-नयाँ पत्रिकाबाट