१३ बैशाख २०८१, बिहीबार
Follow Us

पर्सामा बलात्कारको अर्को घटना

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०७५, बिहीबार १२:५१

पर्सा । पर्सामा सामुहिक बलात्कारको शिकार भएकी महिलाले न्याय नपाएको घटना सेलाउन नपाउँदै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाउँपालिका १ मिर्जापुरकी २५ बर्षिया महिलाको बलात्कार भएको हो । महिलाले जिल्ला प्रहरी कार्यालय पर्सामा आफूमाथि बलात्कार भएको उजुरी दिएकी छन् । उनले लिखित जाहेरी दिँदै गाउँकै ३२ बर्षिय राजकुमार यादवले आफूमाथि जर्बजस्ती करणी गरेको दावी गरेकी छन ।

परिवारका कुनै पनि सदस्य घरमा नभएको मौका छोपी घरभित्र प्रवेश गरी यादवले मंसिर ४ गते दिउँसो मुख थुनेर जर्बजस्ती करणी गरेको महिलाले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । यसअघि वीरगञ्ज महानगरपालिका वडा नं १८ सौराह टोलमा सामुहिक बलात्कारको शिकार भएकी पीडित महिलाले अझै न्याय पाउन सकेकी छैनन् । कात्तिक ५ गते भएको घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएको भएपनि दोषी पक्राउ पर्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले आरोपीको खोजी भईरहेको बताउनुभयो । पर्सा जिल्लामा गत जेठदेखि यता जर्बजस्ती करणीका १७ वटा र जर्बजस्ती करणी उद्योगका ४ वटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।