अठार वर्षअघि विद्यार्थी भिसामा बेलायत छिरेका कलम पौडेल अहिले सफल व्यवसायी बनेका छन् । बाग्लुङको पयुँपाटामा जन्मिएका पौडेलले सन् २००३ देखि बेलायतमा रेमिट्यान्स्को व्यवसाय सुरु गरेका हुन् । उनले नेपालमा आइएमइ ग्लोबल बैंक, आइएमइ इन्सुरेन्सलगायत फाइनाइन्स, हाइड्रो पावरको क्षेत्रमा लगानी गरेका छन् । बेलायतको नेपाली समुदायबीच समाजसेवाको क्षेत्रमा सक्रिय पौडेल एसोसियसन अफ पेमेन्ट स्ट्युच्युुसन बेलायतको केन्द्रीय सदस्य समेत छन् । उनले बेलायतमा रियलस्ट्डेडको क्षेत्रमा समेत लगानी गरेका छन् । यिनी विषयमा नेपाल ब्रिटेन डट कमले पौडेलसँग गरेको कुराकानी ।

० बेलायत आएर व्यवसाय क्षेत्रमा कसरी लाग्नु भयो ?
– सुरुका दिनमा अध्ययन गर्ने उद्देश्यले म बेलायत आएको थिएँ । नेपालमा पनि सानोतिनो व्यवसाय गर्थे । बेलायत आएपछि पनि अध्ययन सकेर केही गर्नुपर्छ भन्ने लाग्यो । सुरुमै रेमिट्यान्स क्षेत्रबाट काम थाले । अहिलेसम्म त्यही क्षेत्रमा काम गर्दैछु ।

० बेलायतमा नेपाली रेमिट्यान्सको व्यवसाय कस्तो छ ?
– सन् २००९–१० तिर जस्तो व्यवसाय अहिले छैन् । अहिले नेपाली बेलायत आउनेक्रम रोकिएको छ । यहाँ बसेका नेपाली प्रायः नेपाल पैसा पठाउने भन्दा ल्याउनेको संख्या बढ्दै गइरहेको छ । बेलायतको रमेट्यान्ससम्वन्धी कानुनमा पनि कडाई हुदैं गएकाले व्यवसाय त्यति धेरै उत्सहाजक देखिदैन् ।

० धेरै नेपालीले गैरकानुनी बाटोबाट बेलायतमा करोडौं रुपैयाँ भित्र्याए भन्ने सुनिन्छ नि ?
– पछिल्लो समयमा नेपालबाट बेलायत पैसा ल्याउनेको संख्या बढेको सत्य हो । नेपाल सरकारले अवलम्वन गरेको कानुनी व्यवस्थाका कारणले नेपालबाट सिधैं पैसां विदेश लैजान पाइदैन् । जसले गर्दा व्यक्ति–व्यक्तिको मिलेमतोमा नेपाली रुपैयाँ विदेशीनेक्रम जारी छ । त्यसलाई वैधानिकता दिन सकियो भने कम्तिमा नेपालबाट कति पैसा बाहिरयो भन्ने आधिकारिक तथ्यांक प्राप्त गर्न सकिन्छ । अर्कोतर्फ गैरकानुनी बाटोबाट पैसा बेलायत ल्याउन बन्द हुन्छ । त्यसैले नेपाल सरकारले धेरै रेमिट्यान्स भित्रिने देशमा कम्तीमा पनि २५ प्रतिशत रकम लैजान पाउने गरी कानुनमा संशोधन गर्ने हो भने केही हदसम्म यस्तो समस्याको सम्बोधन हुन्छ ।

० नेपाल पैसा पठाउँदा धेरै दुःख पाइन्छ भनिन्छ नि ?

– व्यक्तिगत चिनजनाको भरमा पैसा पठाउने प्रचलन बढेको छ । कोहीकोहीले त फेसबुक, भाइवरमा समेत पैसा ल्याउने र लैजाने कोही छ भनेर प्रचारवाजी गरेर कारोवार पनि गरेको देखिन्छ । आधिकारिक निकायबाट पैसा नपठाउँदा डुब्ने डर हुन्छ । कतिपय समयमा त यहाँबाट समयमै पैसा नेपाल नपुग्दा अस्पतालमा भर्ना भएका बिरामीसमेत मर्ने अवस्था आउने गरेको छ ।

० आधिकारिक र भरपर्दो कम्पनी हो भनेर कसरी चिन्ने ?

– अहिलेको सूचना प्रविधिको जमनामा यस्ता कुरा सजिलै पत्ता लगाउन सकिन्छ । यस्ता कुरा सजिलै पत्ता लाग्छ, तर पनि कम्पनीको ब्रण्डदेखि स्थापना भएको मिति र समाजमा त्यसको कस्तो प्रभाव छ भन्ने कुराबाट पनि चिन्न सकिन्छ । नेपालमा पैसा दिनसक्ने सुविधाजनक शाखाहरु भएको कम्पनी खोजेर पैसा पठाउँदा सजिलैं नेपालमा पैसा प्राप्त गर्न सकिन्छ ।

० हुन्डी भनेको गैरकानुनी हो, त्यहाँबाट पैसा पठाउन हुन्न भन्छन् नि ?
– हुन्डी भन्ने शब्दले धेरै मान्छेलाई अन्योलमा पारेको छ । यो सामन्यतया बोलीचालिको भाषामा प्रयोग हुने शब्द हो । हुन्डी मनी ट्रान्सफरको माध्यम हो । पहिलेका बुढापाकाले हुन्डी शब्द प्रयोग गर्छन् । अहिलेको पुस्ता यसलाई मनिट्रान्सफर वा रेमिट्यान्स भन्छन् । तर आधिकारिक निकाय भनेको बैंकिङ कारोवारको लागि योग्य मानिने कम्पनी हुन् । त्यस्ता कम्पनीबाट पैसा पठाउँदा नेपालमा समेत आफ्नो आम्दानीको आधिकारिक स्रोत देखाउन सकिन्छ । त्यो नै कानुनी बाटो हो ।

० तपाई लामो समयदेखि आइएमइ ग्रुपमा आबद्ध हुनुुहुन्थ्यो । तर पछिल्लो समयमा आइएमइ मनिट्रान्फर रियाले किन्यो । तर तपाई फेरि आइएमइ लन्डनको ब्रण्डबाट पैसा पठाउन थाल्नु भयो नि ?
– हो । आइएमई मनिट्रान्फर रियाले किनेको सत्य हो । त्यो ठूलो कम्पनी हो । त्यसका अतिरिक्त आइएमइ लण्डन पनि सन् २००७ देखि नै सुरु भएको हो । रियाले आफ्नो ओनरसीप लिएपछि नेपाली ग्राहकलाई समेट्न सकेन । भाषागत तथा व्यवहारिक रुपमा नेपालीपनको अभाव देखिएकाले मैले छुट्टै आइएमइ लण्डनको ब्राण्डबाट कारोवार सुरु गरको छु । बेलायतबाट मात्र होइन् सन् २०१९ देखि युरोपका अन्य देशमा रहेका नेपाली समुदायले समेत यही कम्पनीबाट पैसा पठाउन सक्ने गरी व्यवसाय विस्तार गर्ने योजना छ ।

० आइएमइ लण्डनबाट कसरी पैसा पठाउन सकिन्छ ?

– अहिलेको सिस्टम निकै सजिलो छ । पैसा पठाउन बैंक जानु पर्दैन् । फोनबाटै पनि पैसा पठाउन सकिन्छ । डेविट कार्ड हुनेले नगद खल्तीमा बोकेर हिड्नु पनि पर्दैन् । अहिले सूचना प्रविधिको जमना छ, त्यसैलाई प्रयोग गरेर घरमै बसेर नेपालको भनेकै ठाउँमा १० मिनेटभित्र पैसा भुक्तानी दिने व्यवस्था मिलाएका छौं ।

० बेलायतमा एक दर्जन जति हुन्डी कम्पनी छन् । तर उनीहरुले दिने रेट भने फरक हुन्छ नि ?
– त्यसमा मुख्य दुईवटा फ्याक्टर हुन्छ, पहिलो कम्पनीको व्यवस्थापन खर्च कति छ, दोस्रो करेन्सीको बजार भाउ र खरिद दर कति छ त्यसको आधारमा मूल्य तय गरिन्छ ।

० यस क्षेत्रमा व्यवसाय गर्न चाहानेहरुलाई के भन्नु हुन्छ ?
– बेलायत सरकारले अवलम्वन गरेका कानुनी प्रावधानहरु निकै कठिन र झ्नझटिला हुदैं गएका छन् । पहिलाजस्तो अहिले आर्थिक कारोवार गर्न सजिलो छैन् । तर पनि बेलायत जस्तो आर्थिक सम्पन्न मुलुकमा आप्रवासी आउनेक्रम नरोकिने बेलासम्म यो व्यवसाय राम्रैसँग चल्छ भन्ने मलाई लाग्छ । नेपालमात्र पैसा पठाउने भन्ने मान्यताका आधारमा होइन् विश्व मनी मार्केटमै काम गर्न सक्छु भन्ने हिम्मत बोकेर आउने हो भने भविष्य निक्कै राम्रो देख्छु ।