६ बैशाख २०८१, बिहीबार
Follow Us

अख्तियार प्रमुखका बारेमा संसदमा मैले छलफल चलाएको हुँ : गगन

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७३, बिहीबार ०७:००

चितवन । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसद्मा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत भएको बताउनुभयो ।

उहाँहरुमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषय छलफलपछिको विभाजनले देखाउने भन्नुहुँदै उहाँले आफू सांसद मात्रै रहँदा सार्वजनिक महत्वको विषय संसद्मा दर्ता गराएको बताउनुभयो । आफू अहिले जिम्मेवार मन्त्री पदमा रहेको भन्दै उहाँले यस विषयमा अन्य सांसदले विषय उठान गर्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

चिकित्सा क्षेत्रको अनियमितताको विषयमा संवैधानिक निकायको संलग्नता रहेको विषय उठेको भन्दै उहाँले यसको छानबिन गर्नुपर्ने बताउनुभयो । छलफल गर्ने कुरामा नै डराउनु गलत भएको भन्दै उहाँले यस विषयलाई सर्वाेच्च अदालतमा समेत छलफलको विषय बनेको बताउनुभयो । मन्त्री थापाले सर्वाेच्चले समेत सरकारलाई केही निर्देशन दिइसकेको भन्दै सरकारले त्यसको पालना गर्नुपर्ने बताउनुभयो ।

पत्रकारको एक प्रश्नमा उहाँले तत्कालीन माओवादी लडाकुको शिविरको अनियमितताको विषय संवैधानिक निकायमा छलफलको विषय बनेकाले यस विषयमा जुन ठाउँमा छलफल हुनुपर्ने हो, त्यहाँ छलफल हुन्छ भन्नुभयो ।

फरक प्रसङ्गमा मन्त्री थापाले डा गोविन्द केसीका अधिकांश मागका सम्बन्धमा सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले दिएकै समयमा माग पूरा हुन नसकेपनि चरणबद्धरुपमा माग पूरा गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

चिकित्सा शिक्षा ऐन संशोधनका लागि दर्ता भइसकेको, ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिइने, मनमोहन स्मृति प्रतिष्ठानलाई मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय अगाडि बढेको, सातै प्रदेशमा एक–एकवटा मेडिकल कलेज स्थापनाका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन आउने गरी काम भएकाले संसद्को प्रक्रियाका कारण काममा ढिलाइ भएपनि माग पूरा हुने बताउनुभयो ।

डा केसीले जुन विषय उठान गर्नुभएको छ त्यही सुधारका लागि आफू मन्त्री भएको भन्दै उहाँले उहाँका माग पूरा हुने बताउनुभयो । लथालिङ्ग र भताभुङ्ग अवस्थामा स्वास्थ्य क्षेत्र रहेको भन्दै उहाँले यसको सुधारका लागि तलदेखि माथिसम्म सुधार गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई सुधार्न सकिन्छ भन्ने सङ्कल्प बोकेर आफू आएको भन्दै उहाँले तीन महिनाभित्रमा नतिजा देखिन सुरु हुने बताउनुभयो ।

पत्रकारको एक प्रश्नमा मन्त्री थापाले भरतपुरको क्यान्सर अस्पतालको व्यवस्थापकीय त्रुटि, अनियमितता, स्रोत र साधनको उपयोग नभएको भन्दै यसको सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो, “मेरो कार्यकालमा अनियमितता हुन पनि दिन्न र सहन्न । कुनै रङ्ग र झन्डा बोकेको भएपनि कसैले छुट पाउँदैन ।”