१५ चैत्र २०८०, बिहीबार
Follow Us

देश बुझ्ने नेताको खाँचो छः पूर्वराष्ट्रपति डा यादव

नेपालब्रिटेन संवाददाता
७ मंसिर २०७५, शुक्रबार १३:१९

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताउनुभएको छ । पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उहाँले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता आँैल्याउनुभयो ।

पूर्वराष्ट्रपति डा यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्टीमा नेता नदेखिएकाले यसतर्फ गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्दै विभेदको राजनीति अन्त्य गर्नसमेत राजनीतिक नेतृत्वलाई सुझाव दिनुभयो ।

गुट उपगुटको राजनीतिमा नेता डुबेको छ, उहाँले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रको विकासका लागि नेतृत्व सकारात्मक हुनुपर्छ, आफ्नो छवि सुधार्न तथा हिमाल, पहाड र तराईलाई जोडेर समुन्नत नेपाल बनाउनमा सबै राजनीतिक दल लाग्नुपर्छ ।”

पूर्वराष्ट्रपति डा यादवले बिपीको विद्रोह पुस्तकले विसं २००७ देखि २०३७ सम्मको विवरण प्रस्तुत गरेको उल्लेख गर्दै बिपीलाई प्रजातान्त्रिक योद्धा र बहुआयामिक व्यक्तित्वको संज्ञा दिनुभयो ।

एक प्रसङ्ग कोट्याउँदै उहाँले सेना जनताका प्रतिनिधिको मातहतमा रहनुपर्ने कुरा तथ्यपरक रहेको बताउनुभयो ।

नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले बिपीको आदर्शबाट नै आफू विद्रोहमा लागेको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको छ भन्नुभयो ।

“बिपीलाई सानो घेरामा राख्नु हुँदैन, उहाँले भन्नुभयो, “बिपीको चेतना एउटा युगको चेतना हो, नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने तथा समाज र परिस्थिति हेरेर नीति लिनसक्ने व्यक्ति बिपी हुनुहुन्थ्यो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा भट्टराईले बिपीले अधुरो छाडेको काम सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर गिरिजाप्रसाद कोइरालाले पूरा गरेको बताउनुभयो ।

पुस्तकबारे टिप्पणी गर्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले बिपी सामाजिक, राजनीतिक दर्शक, साहित्य, कला, शिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व रहेको धारणा व्यक्त गर्नुभयो ।

समालोचक डा ज्ञानु पाण्डेले बिपीमा आफूप्रति इमान्दार हुनुपर्छ भन्ने दर्शन रहेको उल्लेख गर्दै विद्रोहको दर्शनको मुख्य अभिव्यक्ति नै दायित्व बोध भएको बताउनुभयो ।

विद्रोहका लागि विद्रोह नभई देश, जनता र समाजका लागि विद्रोह गर्ने व्यक्ति बिपी कोइराला भएको बताउँदै उहाँले बिपीको सार्थक क्रियाकलापको दृष्टान्तलाई पुस्तकमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ भन्नुभयो । “प्रजातान्त्रिक आन्दोलनको इतिहासको केन्द्रबिन्दुमा बिपीलाई राखेर विद्रोहको सन्दर्भ पुस्तकमा छ, यो इतिहासको किताब हो, तर साहित्यक छ”, पाण्डेले भन्नुभयो ।

राजनीतिक विष्लेषक हरि शर्माले बिपीका जीवन सङ्घर्ष पुस्तकले उजागर गरेको उल्लेख गर्दै पुस्तकले बिपीलाई राजनीतिक रुपमा विद्रोही स्थापित गरेको भएपनि उहाँ सामाजिकरुपमा पनि विद्रोही भएको बताउनुभयो । क्रान्तिलाई पारदर्शी बनाउने नेताको रुपमा बिपीलाई चित्रण गर्दै उहाँले तस्वीर दिमागमा आउने गरी संवादको शैलीमा किताब बगेको टिप्पणी गर्नुभयो ।

पुस्तकका लेखक जगत् नेपालले विभिन्न व्यक्तिले दिएको महत्वपूर्ण सूचनालाई समेत पुस्तकमा समावेश गरेको बताउँदै बिपीको विद्रोही भागमा पुस्तक केन्द्रित भएको धारणा व्यक्त गर्नुभयो ।
‘बाह्रखरी डटकम’का सम्पादक प्रतीक प्रधानले प्रकाशनमा पनि उपस्थिति जनाउने चाहनास्वरुप पुस्तकको प्रकाशन थालेको बताउँदै विशेष गरी पत्रकारितासंग सम्बन्धीत खोजीका र बौद्धिक ज्ञानका पुस्तक प्रकाशन गर्दै जाने जानकारी दिनुभयो ।