१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतका नेपाली नर्सको चुनाब, इन्दिरा बस्याल र विनोद सिंखडा मैदानमा

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७५, शुक्रबार १४:१७

लण्डन । बेलायतमा कार्यरत नेपाली नर्सहरू यति बेला नयाँ नेतृत्वको चयनमा व्यस्त छन् । भोलि शनिबार सम्पन्न हुने अधिवेशनले “नेपलिज नर्सिंग एशोसिएसन”मा आगामी दुई वर्षका लागि पदाधिकारी चुन्ने छ ।

उम्मेदवारी मनोनयनको अन्तिम मितिसम्म अध्यक्ष र उपाध्यक्षबाहेक अन्य पद निर्विरोध भएका छन् ।

अध्यक्षमा संस्थापक सचिब इन्दिरा बस्याल (तिवारी) र वर्तमान उपाध्यक्ष विनोदविकास सिंखडाको उम्मेदवारी परेको हो ।
संस्थाको स्थापनादेखि नै सक्रिय रहेकी इन्दिरा बस्यालले दुई पल्ट सचिब भएर काम गरिसकेकी छन् भने केही समय पदबाहिर रहेर समेत काम गरेकी छन् । बेलायतमा कार्यरत नेपाली नर्सहरूलाई एउटा सूत्रमा गाँसेर समस्याहरूसँग लड्ने तथा सीपविकास र नेपालमा परोपकारी कार्य गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको बस्याल बताउँछिन् ।उनले नेपालको त्रिभुवन विश्वविद्यालय र बेलायतको हार्टफर्ड विश्वविद्यालयबाट नर्सिंग शिक्षामा स्नातक तहको अध्ययन पूरा गरेकी छन् ।

पछिल्ला तीन कार्यकालमा संस्थामा रहेर सक्रिय भूमिका निभाएका विनोदविकास सिंखड़ा वर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा कार्यरत छन् । दुबै उम्मेदवार उत्तिकै सशक्त रहेकाले प्रतिष्पर्धा रोचक हुने देखिन्छ ।

नयां कार्यसमितिको उपाध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा सुनिता गौतम (थापा) र गंगा साम्पांगबीच चुनाब हुनेछ

महासचिवलगायतका अरु सबै पदहरुमा भने एक एक जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएको छ ।

महासचिवमा रस्मिता सिंह दर्लामी, कोषाध्यक्ष बिनु लामिछाने, सांस्कृतिक सचिव राफी श्रेष्ठ, सहकोषाध्यक्ष आज्ञा खनाल तथा सदस्यहरुमा अञ्जना सापकोटा, रञ्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहोरा, सरिता रिजाल र राजत्री पाण्डे थापा निर्विरोध भएका छन् ।

नयाँ नेतृत्वका लागि भोलि शनिबार चुनाब हुँदै छ । साउथह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा हुने अधिवेशनमा संस्थापक अध्यक्ष अजिता सिंखडाको नेतृत्वमा रहेको निर्वाचन समितिले चुनाबी कार्यक्रम सम्पन्न गर्नेछ ।