November 24, 2020
7:04 AM | 12:49 PM

नेपालीले नै नेपाललाई समृद्ध बनाउन सक्छ : डा. महतो

  24/11/2018 मा प्रकाशित

पर्सा । गैर आवासीय सङ्घ नेपालका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालीले सङ्कल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिने बताउनुभएको छ । निजी विद्यालय सङ्घ (प्याब्सन) पर्साले आज वीरगञ्जमा आयोजना गरेको अन्तर विद्यालय टी ट्वान्टी नकाउट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाललाई समृद्ध बनाउन विदेश चाहिँदैन, नेपालीले सङ्कल्प गरेपछि मुलुकको विकास गर्न सकिन्छ ।”

वरिष्ठ उद्योगपतिसमेत रहनुभएका डा महतोले नेपाललाई स्वास्थ्य, शिक्षा र खेलकूदको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने उल्लेख गर्दै नेपालजस्तो प्राकृतिक, साँस्कृतिक, भौगोलिक विविधतायुक्त मुलुक विश्वमा थोरै मात्र रहेकाले आफ्नो शक्तिको सदुपयोग गरे नेपाल छिटै नै समृद्धि हासिल गर्ने बताउनुभयो ।

प्याब्सन पर्साका अध्यक्ष हरिशङ्कर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगतबहादुर टमाटा, वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, अण्डर १९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलगायतले खेलकूदको माध्यमबाट मुलुकलाई विकसित गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतियोगितामा ३२ वटा विद्यालयको सहभागिता छ । वीरगञ्जस्थित नारायणी रङ्गशालाको क्रिकेट मैदानमा मनोकामना मावि र साउथजोन मावि बीच भएको पहिलो म्याचमा मनोकामा मावि ४४ रन अन्तरले विजयी भएको छ ।

टस जिती पहिले व्याटिङ गर्दै मनोकामनाले बनाएको १३२ रनको लक्ष्य पछ्याउन मैदानमा उतरेका साउन जोनका खेलाडी १७ दशमल चार ओभरमा मात्र ८८ रन बनाई अलआउट भएपछि मनोकमाना विजयी भएको हो । चार ओभरमा २६ रन खर्ची पाँच विकेट लिने मनोकामनाका खेलाडी अभय यादव म्यान अफ दी म्याच छानिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया