७ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्तोष लामिछानेको “अल्टिमेट आकाश” सार्वजनिक

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७५, आईतवार ०७:१७

न्युयोर्क । अमेरिका निवासी साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ नोभेम्बर १७, २०१८ का दिन म्याडिसन, अमेरिकामा एक समारोहबीच सार्वजनिक गरियो । सो उपन्यास बेलायत स्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो । वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंको बिशिष्ट आतिथ्यमा कार्यक्रम अगाडि बढेको थियो ।

उक्त कार्यक्रमका लागि बेलायतबाट आएका कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले कृतिको समिक्षा गर्दै नेपाली डायास्पोरिक साहित्यमा “अल्टिमेट आकाश“ एउटा कोशे ढुंगाको रुपमा रहने धारणा व्यक्त गर्नु भयो । अमेरिकी भूमिमा युवाले गर्नु परेको संघर्ष र सफलताको कथा रहेको उक्त उपन्यासका विषयवस्तु, भाषा शैली रोचक रहेको बताउनु भयो ।

उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृतिका तितामिठा कुरा कोट्याउँदै, कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो मनसाय अगाडि पस्किनुभएको थियो ।

अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुशी लागेको बताए । साहित्यकार गोवद्र्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए ।

उपन्यासकार सन्तोष लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाईलाई उपन्यासको रुप दिएको बताउँदै केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुन सक्ने कुरा बताउनु भयो ।

नेपाली अमेरिकन मैत्री संघ (नाफा)को आयोजना गरेको १०९औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् ‘नाफा साहित्यिक साँझ २०७५’ बिचमा उक्त बिमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । प्रतियोगी तथा अप्रतियोगी गरी जम्माजम्मी ३५ वटा कविता वाचन गरिएको यो कार्यक्रममा नाफा अध्यक्ष सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

उक्त उपन्यास ‘आमाजोन’बाट अनलाईनमा बिक्री भई रहेको कुरा कार्यक्रममा बताइएको थियो ।