१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वाइड बडी खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको लेखाको ठहर

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७५, आईतवार १३:४४

काठमाडौ । संसदको सार्वजनिक लेखा समितिले नेपाल बायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद गर्दा ६ अर्ब ५९ करोड घोटाला भएको निस्कर्ष निकालेको छ । समितिको आजको बैठकमा विमान खरिद सम्वन्धी प्रतिवेदन पेश गर्दै समितिका सभापति भरत साहले जहाज खरिदमा उत्पादकहरुले क्रेतालाई दिने दश प्रतिशत रकम सिधै भ्रष्टाचार भएको प्रतिवेदन पेश गरेका हुन । जहाज खरिदसँगै क्रेताले पाउने कमिशन रकम पनि गायब बनाइएको निचोड समितिको छ ।

कमिशन, अधिकतम उडान भार कटौती र मूल्यान्तर गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको समितिको प्रारम्भिक अनुमान छ । समितिले २४ अर्बको खरिदमा नेपाल वायुसेवा निगमलाई आउनुपर्ने कमिशन २ अर्ब ४० करोड रकम कता गयो भनेर सरकारसँग जवाफ समेत मागेको छ । निगमले जहाज सिधै एयरबससँग खरिद नगरी फर्जी कम्पनीमार्फत सम्झौता गरेर खरिद गर्नुले पनि अनियमितताको पुष्टि गरेको समितिको निष्कर्ष छ ।

किनिसकेपछि पनि वाइड बडीको व्यवस्थापन नगरेको र संस्थाको सञ्चित घाटा चुलिँदै गएकोमा पनि लेखा समितिले चासो राखेको छ । विमान किनेपछि पनि निगम ३३ अर्ब भन्दा धेरै ऋणमा डुब्नुको कारणबारे समितिले सरकारसँग जवाफ माग गरेको छ ।