१३ बैशाख २०८१, बिहीबार
Follow Us

संविधान बमोजिम निर्वाचनमा जानुपर्ने एमाले निष्कर्ष

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७३, बिहीबार १५:३०

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ जारी बैठकमा आज सदस्यहरुले संविधान बमोजिम छिटो निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । संविधान कार्यान्वयन नै अहिलेको मुख्य विषय भएकाले छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्नेमा उहाँहरुले जोड दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको विकसित परिस्थिति र आगामी कार्ययोजना सहितको लिखित राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा सदस्यहरुले राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बनाउनुपर्ने, कार्यकर्ता र जनपरिचालन गर्नुपर्ने, तराई–मधेसमा आर्थिक–सामाजिक रुपान्तरणका विशेष अभियान चलाउनुपर्ने, पार्टी नेतृत्वको सरकारले प्रस्तुत गरेका जनपक्षीय नीति, कार्यक्रम र बजेटलाई आम जनताकाबीचमा प्रचारप्रसार गर्नुपर्ने लगायत सुझाव बैठकमा प्रस्तुत गरेका छन् ।

पार्टी नेतृत्वको सरकार भएकोबेलामा मुलुकको स्वाभिमान र शिर माथि उठाइएका कारण जनताको मनोबल माथि उठेको र राष्ट्रिय एकता मजबुत भएको विश्लेषण पनि उनीहरुले प्रस्तुत गरेका छन् ।

प्रतिवेदनमा छलफल गर्न विभिन्न नौ वटा समूह विभाजन भई समूहका नेता र उपनेता चयन भएका थिए ।

यसैगरी, वर्तमानका चुनौतीको सामना गर्न पार्टीलाई गुटबन्दीबाट मुक्त गराएर एकताबद्ध रुपमा अघि बढाउनुपर्ने र संस्थागत तथा कमिटी प्रणालीलाई बलियो बनाउनुपर्ने सुझाव पनि बैठकमा प्रस्तुत भएका छन् ।

गुटबन्दीका कारण पार्टी कमजोर बन्ने भएकाले सिङ्गो मुलुकको भविष्य र नेता कार्यकर्ताको भविष्यका लागि पार्टीलाई यसबाट मुक्त गर्न टोली नेताले नेतृत्व पङ्क्तिको गम्भीर ध्यानाकर्षण गराउनुभएको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रदेश नं २ का तर्फबाट प्रह्लाद गिरी, ३ नंका तर्फबाट अरुण नेपाल, ४ नंका तर्फबाट जगत विश्वकर्मा, ५ नंका तर्फबाट वैजनाथ चौधरी र ७ नंका तर्फबाट निरा जैरुले आआफ्ना समूहमा भएका छलफलका निष्कर्षलाई बैठकसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

बाँकी चार वटा टोली जगन्नाथ खतिवडा (प्रदेश नम्बर १), यामलाल कँडेल (प्रदेश नम्बर ६) रचना खड्का (केन्द्रीय विभाग) र विश्वनाथ प्याकुरेल (मोर्चा सङ्गठन) का तर्फबाट भोलि सुझाव प्रस्तुत गर्नुहुनेछ । अर्को बैठक शुक्रबार दिउँसो १२ बजे पुनःबस्नेछ ।

बैठकका लागि राजनीतिक प्रतिवेदनका साथै स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णयको अनुमोदन, केन्द्रीय आयोगका प्रतिवेदन आदि कार्यसूची तय भएका छन्