१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गच्छदारको उपसभापति पद संकटमा !

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७५, सोमबार ०५:०६

काठमाडौं । पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन । सभापति शेरबहादुर देउवाले पार्टी एकतापछि गच्छदारलाई ‘राजनीतिक निर्णय’का आधारमा उपसभापति मनोनीत गरेका थिए । त्यसअघि विधानअनुसार विमलेन्द्र निधि उपसभापति मनोनीत गरिएका थिए ।

केन्द्रीय समितिमा प्रस्तुत विधानको मस्यौदामा सहमति भएन र महासमितिले पनि पदाधिकारी नथप्ने अहिलेकै प्रस्ताव पारित गरे गच्छदारको उपसभापति पद संकटमा पर्नेछ । गच्छदारलाई व्यवस्थापन गर्न दुई उपसभापति बनाउने व्यवस्था गर्नुपर्छ । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला त्यसको पक्षमा छैनन् ।

‘उपसभापति मनोनीत गर्न खाली सिटमा नै उहाँ गच्छदारलाई ल्याएको भए समस्या हुने थिएन । विधान मस्यौदा गर्दासमेत उहाँ समेटिनु भएन,’ विधान मस्यौदा समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले भने, ‘राजनीतिक रूपमा सबैले मानेका हुन्, तर प्रक्रिया पुगेन भनेर पहिले नै विरोध भयो । राजनीतिक निर्णय भनेर गर्दा विधानमा पनि समस्या आउने भयो ।’