१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सुन तस्करीसँग उठबस

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७५, सोमबार ०९:१२

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विवादमा तानिएका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को महासभामा सहभागी हुन युनाईटेड अरब इमिरेटस (युएई)को दुबईमा पुगेका महानिरीक्षक खनालले सुन तस्करी प्रकरणमा उच्च अदालत बिराटनगरमा मुद्दा बिचाराधीन रहेका अभियुक्तहरुसँग भेट गरेसँगै उनी विवादमा तानिएका हुन् ।

मंसिर २ देखि ५ गतेसम्म भएको इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका महानिरीक्षक खनालले सुन तस्करीमा मुछिएका ठाकुर ढुंगाना र विवादास्पद व्यापारी दीपक मल्होत्रा र बाजेका सेकुवाका संचालक चेतन भण्डारीलाई भेट गरेको खुलेसँगै उनी विवादमा तानिएका हुन् । सुन तस्करीको अनुसन्धान गरिरहेको सरकारी टोलीलाई झुक्याएर भागेका धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई दुबई बस्दै आएका ठाकुरप्रसाद ढुंगाना प्रहरी महानिरीक्षक खनाल र वरिष्ठ प्रहरी अधिकारीसँगै एउटै मञ्चमा देखिएका थिए । सुन तस्कर ढुंगाना, प्रहरी महानिरीक्षक खनाल, प्रहरीन नायब महानिरीक्षक निरजबहादुर शाही, प्रहरी वरिष्ठ उपरीक्षक देउती गुरुङ र प्रहरी उपरीक्षक उमेशराज जोशी एउटै मञ्चमा देखिएका हुन् ।

काठमाडौंमा कान्तिपुर होलिडे र एवल टुर्स एण्ड ट्राभल्सका संचालक रहेका ढुंगाना सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको भेटिएपछि गृह सहसचिव ईश्वरराज पौडेलको नेतृत्वको छानबिन समितीले बयानका लागि बोलाएको थियो । समितिमा हाजिर भएका ढुंगाना बयान लिएर तारेखमा छुटेकै बेला असारदेखि सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहीन भएपछि उनको सुन तस्करीमा संलग्नता पुष्टि भएको थियो । विमानस्थल र सीमामा कडा निगरानी राखे पनि उनी भाग्न सफल भएका थिए ।

अनुसन्धानमा दुबईमा ग्रीनलाइन ट्राभल्स एण्ड टुर्सका समेत सञ्चालक रहेका ढुंगानाको तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीका साझेदार हुन् । सुन अनुसन्धान टोलीले ढुंगाना संचालक रहेको लाजिम्पाटस्थित एवल टुर्स एण्ड ट्राभल्स र कान्तिपुर होलिडेमा छापा मारी शिलबन्दी गरी मुद्दा मोरङ जिल्ला अदालतमा बुझाएको थियो । अदालतले १० लाख धरौटीमा छाडेका ढुंगाना उच्च अदालत बिराटनगरमा मुद्दा विचाराधीन छ ।

सुन तस्करीका आरोपी ढुंगाना र आइजिपी गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, युएई च्याप्टरको कार्यक्रममा सँगै बसेका थिए । ३८ क्विन्टल सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ढुंगानाले केही महिनाअघि उच्च अदालत विराटनगरमा आत्मसमर्पण गरेका थिए । राजनीतिक पहुँचमा बलियो भएका ढुंगाना पछि १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । इन्टरपोलको सम्मेलनपछि मात्र एनआरएनएमार्फत दुबईस्थित नेपाली दूतावाससँग आइजिपी खनालले समन्वय गरेका थिए । एनआरएनएको वार्षिक साधारण सभा कार्यक्रममा भाग लिएका आइजिपी खनाल कार्यक्रममा एनआरएनएका आइसिसी सदस्यसमेत रहेका सुन तस्करीमा मुछिएका ढुंगानासँगै थिए ।

महासभामा सहभागी हुन गएको प्रहरी टोली गैर आवासीय नेपालीको कार्यक्रममा पूर्व योजनाअनुसारै सहभागी भएको थियो । एनआरएनएको कार्यक्रममा महानिरीक्षक खनाललाई विशेष अतिथी बनाइएको थियो । दुबईस्थित स्रोतका अनुसार इन्टरपोलले रेड कर्नर नोटिसमा राखेका बाजेको सेकुवाका संचालक चेतन भण्डारीसँग समेत महानिरीक्षक खनालले भेटघाट गरेका छन् । अमेरिकाबाट भागेर लुक्दै बसेका भण्डारी केही समयअघि दुबई बस्दै आएका छन् ।

यस्तै महानिरीक्षक खनालले दुबई हुँदा विवादास्पद व्यापारी दीपक मलहोत्रा समेतसँग समेत भेटेका छन् प्रहरी निरीक्षकका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्दादेखि बिशेष सम्बन्ध भएका मल्होत्रालाई उनले यसअघि समेत संरक्षण गर्दै आएको स्रोतले जानकारी दियो । यसअघि दुबईमा एनआरएनको पनि अर्को एक जमघट भएको थियो, जहाँ सुन तस्करीमा मुछिएका अर्का व्यक्तिहरु नै अगुवा भएको स्रोतले जानकारी दियो । शनिबार आइजिपी खनाल स्वदेश फर्किएका थिए ।