१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुन तस्करसँग भेटेको छैन : सर्वेन्द्र खनाल

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७५, सोमबार १२:५९

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले दुबई भ्रमणका क्रममा आफूले कुनै सुन तस्करसँग नभेटेको स्पष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा आईजीपी खनालले सुन तस्करसँग भेटेको समाचार आएपछि उनले उक्त आरोपको खण्डन गरेका हुन् ।

आईजीपी खनाल इन्टरपोलको महासभामा सहभागी हुन एक साता अघि दुबई गएका थिए । उनको साथमा डीआईजी निरज शाही, एसएसपी देउती गुरुङ, एएसपी उमेशराज जोशी भ्रमणमा गएका थिए । सो क्रममा साढे ३३ किलो सुन काण्डका अभियुक्त ठाकुर ढुंगानासँग भेटघाट गरेको भन्दै खनालको आलोचना भएको हो ।

बिहीबार खनाललाई एनआरएनको कार्यक्रममा सहभागी हुन निम्तो दिइएको थियो । कार्यक्रममा पूरै बस्न नभ्याउने भएपछि आफू १ घन्टाका लागि मात्र कार्यक्रममा गएको र लगत्तै फ्लाइट भएकाले फर्किएको खनालले बताए । उनले भने, ‘एनआरएनको कार्यक्रममा सहभागी भएको हुँ, नेपालीहरुको कार्यक्रम भनेपछि जान पनि मन लाग्यो, त्यहाँ कोको आउँछन् सबैलाई चिन्ने कुरा भएन । सोही रात फ्ल्याइट भएपछि हामी कार्यक्रम नसकिदैँ फर्किएका हौं ।’

सोही क्रममा आईजीपी खनालले व्यापारी दीपक मल्होत्रासँग पनि भेटघाट गरेको आरोप व्यवसायी मल्होत्राले झूठो रहेको बताए । उनले आफू विगत एक वर्षयता दुबई नै नगएको जानकारी दिए । उनले भने, ‘म एक वर्षअघि दुबई गएको थिएँ, त्यसयता गएको छैन । तर, मेरो नाम पनि जोडेर कसरी समाचार आयो, म आफै अचम्मित र दुःखी भएको छु ।’ यस्तो समाचार प्रकाशनमा हुनुमा आफूलाई बद्नाम गर्ने नियोजित षड्यन्त्र भएको उनको भनाइ छ ।