१३ बैशाख २०८१, बिहीबार
Follow Us

म रहेसम्म पार्टी फुट्दैन : वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन डट कम्
६ आश्विन २०७३, बिहीबार १५:४५

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको गुटबन्दीप्रति चिन्ता व्यक्तगर्नुभएको छ । वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित ‘आगो निभेको छैन’ पुस्तकको विमोचन गर्न यहाँ आज आयोजित समारोहमा नेता पौडेलले पार्टीभित्र बढ्दै गएको गुटबन्दीले काँग्रेस कता जाँदैछ भनी चिन्ता व्यक्तगर्दै गर्दै आफू रहेसम्म पार्टी कुनै पनि हालतमा फुट्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पार्टी सभापति शेरबहादुर देउवालाई ‘तपाई सभापति भइसक्नुभयो, तीनपटक मुलुकको प्रधानमन्त्री पनि हुनुभयो अब सीमित घेरामा नबस्नुस् भनी सुझाव दिएँ ।”

ठूलो बलिदानी र सङ्घर्षबाट आएको पार्टीको लेखाजोखा नगरी अघि बढ्न सकिदैन भन्दै उहाँले भन्नुभयो, “मैले निर्वाचनमा हारे पनि सभापति शेरबहादुर देउवालाई अप्ठ्यारो पारेको छैन । पार्टीमा गुटबन्दीको अन्त्य र पार्टीलाई एकाकार गरी अघि बढाउन म सधँै तयार छु ।”

नेता पौडेलले सभापति देउवालाई परम्परागत गुटबन्दीको अन्त्य गरी आफूसँग समझदारी गरेर अघि बढे बीचमा बागीले खेल्न नपाउने सुझाव पनि दिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा काँग्रेस नेतासमेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले लोकतन्त्र र शान्तिसँग सम्बन्धित काम गर्न अझै बाँकी रहेको बताउँदै संविधानको स्वामित्व बढाउन संविधान संशोधनको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

आन्दोलनबाट गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्म निरपेक्षता र मिश्रित निर्वाचन प्रणाली उल्लेख्य पाँच उपलब्धि भएको बताउँदै उपप्रधानमन्त्री निधिले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन गर्नु आवश्यक छ ।”

कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनआन्दोलन र लामो सङ्घर्षपछि मुलुक आजको अवस्थासम्म आइपुगेको बताउँदै आन्दोलनले ठूलो परिवर्तन ल्याए पनि राजनीतिक नेतृत्वले जनताले चाहेअनुरुप काम गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।

काँग्रेस नेता प्रदीप गिरीले वरिष्ठ पत्रकार विरहीको पुस्तकमाथि विवेचना गर्दै क्रान्तिबाट नगुज्रिएको मुलुक र प्रेमबाट नगुज्रिएको मानिस अपूर्ण हुने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार हरिहर विरहीले पुस्तक लेख्दाका अनुभव सुनाउँदै आफूले नयाँ पुस्तालाई यथार्थ इतिहासको जानकारीका लागि पुस्तक लेखेको बताउनुभयो ।

वरिष्ठ पत्रकार विजय कुमारले वाक स्वतन्त्रता समेत नभएको परिवेशमा पत्रकार विरहीले नेपाली पत्रकारितामा गरेको योगदानको प्रशंसा गर्नुभयो ।

पुस्तकको विमोचन प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् काँग्रेस नेताद्वय सहिद केशव कोइराला र बोधप्रसाद उपाध्यायका श्रीमती क्रमशः गुणकुमारी कोइराला र विद्या घिमिरे उपाध्यायले गर्नुभएको थियो ।