४ बैशाख २०८१, मंगलवार
Follow Us

‘वाइडबडी खरिदको प्रक्रिया नै त्रुटिपूर्ण, म संलग्न छैन’

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७५, सोमबार १३:३४

पोखरा । संकृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका लागि ‘वाइडबडी’ विमान खरिदको प्रक्रिया नै त्रुटिपूर्ण रहेको भन्दै आफू त्यसमा संलग्न नरहेको स्पष्टीकरण दिएका छन् । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा उनले अघिल्लो सरकारको पालामा अघि बढेको प्रक्रियाअनुसार विमान आएकाले आफूमाथि शंका नगर्न आग्रह गरे ।

‘अगाडिकै सरकारको पालामा सम्पूर्ण प्रक्रिया भएको हो । मेरो पालामा जहाज आएकोमात्रै हो’–उनले भने । उनले वाइडबडी जहाज भाडामा नभइ किनेरै ल्याएको जहाज भएकोसमेत दाबी गरे । मन्त्री अधिकारीले स्थानीय तह पूर्वाधार विकास कार्यक्रमको विनियोजित रकमसमेत सोक्रममा सार्वजनिक गरेका थिए ।

गृहजिल्लामा कालोझन्डा
यसैबीच, मन्त्री अधिकारीलाई पोखराको सिर्जनाचोकमा नयाँ शक्ति पार्टी नेपालका कार्यकर्ताले कालोझन्डा देखाएका थिए । कालोझन्डा देखाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।