१९ बैशाख २०८१, बुधबार
Follow Us

डिआइजी पदमा बढुवाको दौड शुरु

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७५, मंगलवार ०६:३३

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशील भण्डारीको दुर्घटनामा निधन भएपछि खाली रहेको डिआइजी पदमा चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दौड शुरु भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रिक्त डिआइजी पदमा बढुवाको प्रक्रिया अघि बढाएसँगै चार एसएसपीको दौड शुरु भएको हो ।

एसएसपीहरु वीरेन्द्र श्रेष्ठ, गणेश ऐर, घनश्याम अर्याल, वसन्त पन्तहरु लागेका छन् । वरीयताको एक नम्बरमा वीरेन्द्र श्रेष्ठ छन् । त्यसैले आइजीपी खनाल एसएसपी श्रेष्ठलाई नै बढुवा गर्ने योजनामा रहेको स्रोतले बताएको छ । एसएसपी श्रेष्ठ आइजीपी खनालकै ब्याची पनि हुन् । आइजीपीको ब्याचका सबै डीआइजी र एआइजी भइसकेका छन् । तर श्रेष्ठ भने एसएसपी नै छन् ।

एसएसपीद्वय ऐर र पन्त आइजीपीको नजिक भएकाले बढुवा हुने दाउमा छन् । निकट भएकै कारण ऐरलाई ललितपुरबाट आइजीपी खनालले कल्याणमा ल्याएका थिए भने पन्तलाई ट्राफिक महाशाखाको प्रमुखको महत्वपूर्ण जिम्मेवारी दिएका छन् । एसएसपी घनश्याम अर्याल भने गुल्मी एमालेका नेताहरु प्रदीप ज्ञवालीहरुको शक्ति प्रयोग गरी बढुवा हुने दौडमा लागेका छन् ।

एसएसपी अर्याल गुल्मीका भएकाले त्यताका नेता प्रयोग गरिरहेका छन् । ऐर पनि नेकपाका नेताहरुको सोर्सफोर्स लगाइरहेका छन् । अहिले रिक्त पदमा डीआइजी बढुवा हुन सके प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुने भएकाले पनि चर्को प्रतिस्पर्धा भएको हो ।

त्यसो त नेपाल प्रहरीले ओ एण्ड एम सर्वे गरेर भर्खरै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोमा डीआईजीको दरबन्दी कायम गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ । सरकारले प्रहरीको उक्त प्रस्ताव स्वीकृत गरेमा प्रहरीमा अर्का एक जना पनि डीआईजीको दरबन्दी थप हुनेछ ।

उच्च स्रोतका अनुसार एक–डेढ सातामै दरबन्दी थपको निर्णय हुनेछ । त्यसो भएमा दुई एसएसपीले डीआईजीमा बढुवाको मौका पाउनेछन् । त्यसो त एसएसपीहरु पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र डा. देवबहादुर बोहरा पनि डीआईजी बढुवाको दाबेदार हुन् । उनीहरु सबै जना २०४९ वैशाख १९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् ।

उनीहरुका ब्याचमेट मध्येका शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की गत महिना डीआईजीमा बढुवा भइसकेका छन् ।