१६ चैत्र २०८०, शुक्रबार
Follow Us

छक्का पञ्जाको मर्मस्पर्सी सन्देश

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७३, शुक्रबार ०६:५६

काठमाडौं । नेपाली सिनेमाको इतिहासमा छक्का पञ्जाले निकै ठूलो तहल्का पिटेको छ । वर्षौँदेखि टेलिभिजनको पर्दामा देखिने हाँस्य कलाकारहरुले पछिल्लो समयमा निकै मर्मस्पर्शी कुरालाई पनि हाँसोको माध्यमबाट प्रस्तुुत गर्न कमेडी चलचित्र निर्माण गरेका छन् । हाँस्य टेलिसिरियल तितोसत्य ,जिरे खुर्सानी तथा मेरी बास्सैका कलाकारहरुले यस खाले चलचित्रमा भूमिका निर्वाह गरेका छन् ।
आफ्नो मन रुवाएर पनि दर्शकलाई हँसाउने हाँस्य कलाकारहरु यतिबेला छक्का पञ्जाको माहोलमा व्यस्त छन् । दिपाश्री निरौलाले निर्देशन र दिपक राज गिरीले निर्माण गरेको उक्त चलचित्रका निर्माताहरु, जितु नेपाल (मुन्द्रे), कुञ्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्ने बुढो), ताराचन्द्र बजगाईँ (निसान), सुमन गिरी (भाञ्जा) रहेका छन् भने मुख्य कलाकारहरुमा , दिपकराज गिरी, प्रियङ्का कार्की, जितु नेपाल, ,नम्रता सापकोटा, प्रमोद अग्रहरि, कमला रेग्मी, बुद्धि तामाङ्ग, अरुणा कार्की, शिवहरि पौडेल, वर्षा राउत, केदार घिमिरे आदि रहेका छन् । त्यस्तै सहायक कलाकारहरुमा दिपक शर्मा, बसुन्धरा भुषाल, किरण केसी, स्वस्तीका लामिछाने, आर्यन सिग्देल, शंकर आचार्य, कुमार गजुरेल, केशव न्यौपाने आदि रहेका छन् ।
यतिबेला भाद्र २४ गतेदेखि एकैसाथ नेपाल अधिराज्यभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छक्का पञ्जाले नेपाली लाखौं दर्शकको मन जित्न सफल भएको छ । चलचित्र पूर्ण रुपमा वैदेशिक रोजगारमा आधारित भएर पनि नेपालीको नेपालप्रतिको मोहलाई पनि दर्शाएको छ । चलचित्र हाँस्यप्रधान भए पनि धेरै मार्मिक कथा व्यथा बोकेको नेपालीको ढुकढुकी बनेको छ । अति दर्दनाक कहानीलाई पनि हाँस्य व्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिएको सो चलचित्रमा वास्तविक नेपालका ग्रामीण क्षेत्रका संभ्रान्त वर्ग र विपन्न वर्ग बीचको भिन्नताको चित्रण गरी धनी र गरीब बीचको खाडल पुर्ने प्रयास गर्ने सन्देश समेत पाउन सकिन्छ ।
यो चलचित्रमा अरु नेपाली चलचित्रमा भन्दा नितान्त भिन्नता पाउन सकिन्छ । समयको मागअनुसारको चलचित्र निर्माण गर्ने निर्माताहरु तथा कलाकारहरु छक्कापञ्जामा निकै हाँस्य व्यङ्ग्य रुपमा प्रस्तुत भएका छन् । चलचित्रमा गाउँले, सीधा सोझा जनता, गरिब गुरुवा, नरनारीदेखि साहूमहाजनहरु र संभ्रान्त परिवारको चरित्र उदाङ्गो पारिएको छ ।
वास्तविक नेपालको ग्रामीण क्षेत्रलाई महत्व दिइएको यो चलचित्रमा कमेडीमात्रै नभएर गरीबका पडिा र व्यथालाई पनि निकै मार्मिक ढङ्गले चित्रण गरिएको छ । कारुणिक वेदनाका कथालाई ठट्टामा उतारी हाँसोकै माध्यमबाट धेरै सन्देशहरु प्रवाह गर्न खोजिएको छ । चलचित्रमा रुन्चे हाँसोको प्रयोग गरिएको छ भन्दा पनि अत्युक्ति नहोला ।
विशेष गरी चलचित्रमा वि.सं. २०५२ देखि २०६२ ÷६३ को समयलाई परिवेश बनाइएको जस्तो लाग्छ । कैयौँ नेपाली युवाहरु नेपालमा रोजगारको अभाव भएपछि विदेश पलायन हुनुपरेको बाध्यतालाई अतित, माग्ने बुढो , सरस्वतीप्रसाद , बले आदि पात्रको माध्यमबाट देखाइएको छ ।
त्यसै गरी अमेरिका जस्ता शक्तिशाली र विकसित देशको पि.आर धारी केटालाई छोरी दिन हुरुक्कै हुने बाबुआमा र पि.आर पाएका केटाका पछि लाग्ने नेपाली युवतिहरुप्रति चलचित्रमा व्यङ्ग्य गरिएको छ । गाउमा गरीबलाई मिठो खान चाडवाड आउनुपर्ने र सम्पन्न वर्गले गरीबीको फाइदा उठाई गरीबलाई थिचोमिचो गर्ने प्रवृत्तिप्रति पनि कटु व्यङ्ग्य गरिएको छ । संभ्रान्त परिवारले दास राख्ने र विपन्न वर्गका मानिसहरु विहान बेलुका हातमुख जोड्नकै लागि उनीहरुको दास बस्नुपर्ने परम्पराप्रति तीब्र विरोध गर्दै तीखो व्यङ्ग्य गरिएको छ । आफ्नो घरपरिवारलाई आफू विदेश जादा अर्काको जिम्मा लगाइ हिड्नुपर्ने बाध्यतालाई निकै मर्मस्पर्शी तथा व्यङ्गात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

सबैलाई सहयोग र भलो गर्ने बाहनामा आफ्नै साथीकी श्रीमतीको अस्मिता लुटी यौनशोषण गर्ने गाउका कलंक पुरुष र रक्सी खाएर आफ्नै स्वास्नीमाथी बहादुरी देखाई मरणाशन्न हुने गरी कुट्ने कुपात्रहरुको पनि निकै हास्यास्पद तरीकाले प्रस्तुत गरिएको छ । सँथिसाथिमा पनि बदलाको भावना राखी एकअर्कामा मनमुटाव सिर्जना गर्ने वर्तमान बोक्रे मित्रहरुप्रति पनि यस चलचित्रले व्यङ्ग्य गरेको पाइन्छ । एकातिर लोग्नेको नामको सिन्दुर पोते लगाई लोग्ने विदेश भएको बेलामा घरमा परपुरुष ल्याई मोजमस्ती गरी लोग्नेको सम्पत्ति उडाइ अर्कैसग पोइला जाने महिला पनि हाम्रो समाजमा छन् भनी पानीमा टेकी पाइला नपार्ने आइमाइको पनि यस चलचित्रले खिल्ली उडाएको पाइन्छ ।
यसरी हेर्दा यो चलचित्र औसतमा भन्दा सबै पक्षबाट उत्कृष्ट भएको ठहर भएता पनि विदेश जाने बेलासम्म पनि काठमाण्डौ नदेखेको , संभ्रान्त वर्गका व्यक्ति अलि कम भएकोले तरकारीमा नूनको कमी भएजस्तो भान हुने र अन्तमा संभ्रान्त परिवारको व्यक्ति विहे गरेर पनि योगि बनेर बस्नु जस्ता कुराहरुले चलचित्रको मिठासलाई अलि खजमजाएजस्तो पाउन सकिन्छ । चलचित्रको संगीत पक्षमा पनि अन्त्यमा केटीको टुक्ककाले झनै मिठास थपेको छ ।
गीतमा केही सुदुर पश्चिमेली शब्द र धेरै पश्चिमेली तथा मौलिक शब्दले अझै बढी सुगन्ध थपेको पाउन सकिन्छ । नेपालको सुदुरपश्चिममा बोलिने भाषा तथा ग्रामीण क्षेत्रको भेषभूषाले चलचित्र अझै बढी आकर्षक बनेको छ ।
मानिस आफैमा असन्तुष्टिकको भकारी हो । उसलाई जहा गएर , जति सुख पाएपनि सन्तोष हुदैन भन्ने कुरालाई चलचित्रमार्फत् प्रस्तुत गरिएको छ । पुरुषोत्तम प्रधानले छायाङ्कन गरेको उक्त चलचित्रमा तराइ क्षेत्रका केही ठाउँ र काठमाडौका विभिन्न दृश्यहरुले निकै मनमोहक देखाएको छ । पनौति, खपासी, सल्नीटार, पस्थली तथा विजयनगरमा छायाङ्कन भएको चलचित्रको छायाङ्कन पक्षले पनि त्यत्तिकै मन लोभ्याउदछ ।
यसरी विभिन्न सन्देश प्रवाह गर्ने उद्देश्यले प्रदर्शन भएको चलचित्र सुखान्त चलचित्र हो । छक्का पञ्जा भन्ने शीर्षकले पनि चलचित्रभरी नै सार्थकता पाएको छ । चलचित्रमा जताततै जालझेल मात्र भएकोले पनि चलचित्रको शीर्षक छक्का पञ्जा सार्थक छ भन्न सकिन्छ । यसप्रकारले यो चलचित्र नेपाली सामान्य तथा बौद्धिक दुवैखाले दर्शकलाई बुझ्न सजिलो हुने चलचित्र बनेको छ । चलचित्र अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र बन्न सफल भएको छ ।
आगामी चलचित्र अझै अन्तर्राष्ट्रिय स्तरको बनोस् सबैको कामना ।
– सरु पौडेल