१३ बैशाख २०८१, बिहीबार
Follow Us

उच्च अदालतको मुख्य न्यायाधीश तोक्न सिफारिस

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७३, शुक्रबार ०६:५९

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यात र उच्च अदालत दीपायलका न्यायाधीश प्रकाशकुमार ढुङ्गानालाई सोही अदालतको मुख्य न्यायाधीशमा नियुक्ति गरी पदस्थापन गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।

परिषद्को आजको बैठकले सो दुई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरी पदस्थापन गर्न प्रधानन्यायाधीशलाई सिफारिस गरेको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।

बैठकले राजस्व न्यायाधीकरण काठमाडौँको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश डिल्लीराज आचार्य, राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्षमा उच्च अदालत विराटनगरका न्यायाधीश कुमार पोखरेल, राजस्व न्यायाधीकरणमा पोखरामा उच्च अदालत पोखराका न्यायाधीश सत्यराज गुरुङ र राजस्व न्यायाधीकरण नेपालगन्जमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश वीरबहादुर डागीलाई तोक्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ ।

त्यस्तै, हाल विशेष अदालतका अध्यक्ष तथा सदस्यलाई विभिन्न उच्च अदालतमा पदाधिकार राखी हाल सोही विशेष अदालतमा अध्यक्ष तथा सदस्यमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश हेमन्तकुमार रावललाई तोक्न सरकार समक्ष सिफारिस गरेको जनाएको छ ।

सैनिक विशेष अदलतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश नीता गौतम दीक्षितलाई तोक्न सरकार समक्ष सिफारिस गरेको सचिव गिरीले जानकारी दिनुभयो ।