६ बैशाख २०८१, बिहीबार
Follow Us

लिम्बू भाषा सरकारी कामकाजी भाषा

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०७५, बुधबार ०९:२२

मङ्गलबारे । नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिनुभयो ।

वडामा कामकाजी भाषाका रूपमा ‘लिम्बू भाषा’ को कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा भएको वडाध्यक्ष राईले बताउनुभयो । कार्यान्वयनको औपचारिक घोषणा इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले विहीबार गर्ने वडा कार्यालयले जनाएको छ ।

वडामा दोभाषे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग गर्ने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।

गत १५ कात्तिकमा वडामा बसेको विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र सङ्घसंस्थाको संयुक्त बैठकले नेपालमै पहिलोपटक ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । “मैले एक्लैले यस्तो निर्णय गरेको होइन, स्थानीयवासी, बुद्धिजीवी तथा राजनीतिक दलको सहयोगमा निर्णय भएको हो”, उहाँले भन्नुभयो, “यो निर्णयले लिम्बू समुदायका नागरिकलाई ठूलो टेवा पुग्नेछ ।” यहाँ ६० प्रतिशत लिम्बू र ४० प्रतिशत अन्य जातिको बसोबास रहेको छ ।

हालसम्म वडा र गाउँपालिकामा कोही पनि बहुभाषिक कर्मचारी नियुक्त भएका छैनन् । स्थानीय भाषा कामकाजी भाषाका रूपमा प्रयोग हुन थालेपछि गाउँपालिकासँग दोभाषे कर्मचारी नियुक्त गर्न माग गरिने वडाध्यक्ष राईले बताउनुभयो । तत्काल लिम्बू भाषा जान्ने स्थानीय पाँच स्वयंसेवकबाट सहयोग लिइने उहाँको भनाइ छ । त्यसका लागि स्वयंसेवक समितिसमेत गठन गरिएको छ ।

समितिले गाउँपालिकाबाट दोभाषे कर्मचारी नियुक्त नभएसम्म स्वयंसेवकका रूपमा दिलहाङ शेर्मा, इन्द्र आङदेम्बे, ललितचन्द्र फियाक, सञ्चहाङ साम्बहाम्फे र केशेहाङ्मा थेगिमले काम गर्नुहुनेछ ।

संविधानले स्थानीय भाषालाई समेत सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएको भए पनि आवश्यक जनशक्तिको अभावमा कार्यान्वयन नगरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो । यसअघि गाउँपालिकाले पालिकाभरिका सरकारी कार्यालयको सूचना पाटी देवनागरी र किराँत सिरिजङ्घा लिपिमा राख्ने निर्णय गरिसकेको छ ।
–गोविन्द लामिछाने