६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा एनआरएन नेताहरु

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०७५, बुधबार १२:५०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई आर्थिक विकासको बाटोमा तीव्रताका साथ अगाडि बढाउन एउटा नयाँ अभ्यासको थालनी भएको बताएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा गठित उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुकमा नीति, योजना तथा कार्यक्रम कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण भएको समेत बताए ।

“हामीसँग उपलब्ध स्रोत र साधनको महत्तम उपयोग गर्दै सुशासनको माध्यमबाट समृद्ध नेपाल निर्माणको दिशामा अगाडि बढ्न सम्भव छ,” प्रम ओलीले भने, “मुलुकको लक्ष्य प्राप्तिका लागि सरकारी, निजी र सहकारी क्षेत्रबीच सहकार्य, समन्वय र साझेदारीलाई प्रवद्र्धन गर्दै अगाडि बढ्नुपर्छ र यसमा परिषद्को संस्थागत संरचना थप क्रियाशील बनाउनुहोस् ।”

बैठकमा सम्वाद परिषद्का सदस्य सुरज वैद्यले सरकार र निजी तथा व्यावसायिक क्षेत्रबीच समन्वय र साझेदारीका विषयमा प्रस्तुतीकरण गरेका थिए भने सहभागीले आ–आफ्ना विचार राखेका थिए । प्रधानमन्त्री ओलीको अध्यक्षमा गठन भएको निजी क्षेत्रका अधिकारीहरुको परिषद् बैठकले ८ वटा विषयगत उपसमिति गठन गर्ने र सरकारलाई क्षेत्रगत सुझाव दिने निष्कर्ष निकालेको थियो ।

उक्त परिषद् एनआरएनए प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र संरक्षक जीवा लामिछाने रहेका छन् । गत सोमबार गठन भएको उक्त परिषद् गत असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार समिति गठन गरिएको हो। डा. महतोले औषधी उद्यमीको प्रतिनिधित्व गर्छन भने लामिछाने पदेन सदस्य हुन् ।

समितिको सदस्यहरुमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब, अर्थमन्त्री डा. युवराज खतिवडा, उर्जा, जलस्रोत तथा सिंचार्इमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी छन्।

निजी क्षेत्रबाट सुरज वैद्य, जगदीश अग्रवाल, सीपी शर्मा, अनुपमा खुँजेली, प्रमिला रिजाल आचार्य, अम्बिका श्रेष्ठ, पद्म ज्योती, वसन्त चौधरी, रविभक्त श्रेष्ठ, आङछिरिङ शेर्पा, कैलाश सिरोहिया, विश्वास ढकाल, नकिम उद्दिम, लोकमान्य गोल्छा र चिरञ्जिवीलाल अग्रवाल सदस्य छन्।

पदेन सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघकी पूर्व अध्यक्ष लता प्याकुरेल, नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ नेपालका अध्यक्ष र महिला चेम्बर अफ कमर्शका अध्यक्ष छन्।