४ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल प्रहरीमा भावी महानिरीक्षकको दौड सुरु

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७३, शुक्रबार ०७:१२

काठमाडौं । नेपाल प्रहरीमा भावी महानिरीक्षक(आइजिपी) नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ ।

आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागुन १ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् र बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेकाहरुबाट एक आइजिपी बन्ने छन् । २०४४ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका अहिलेका डिआइजीमध्ये वरिष्ठताको रोल क्रममा १ नम्बरमा रहेका नवराज सिलवाल, २ नम्बरमा रहेका प्रकाश अर्याल, ३ नम्बरमा रहेका जयबहादुर चन्द र ४ नम्बरमा रहेका बमबहादुर भण्डारीबीच नयाँ आइजिपी बन्न तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।

डिआइजीबीचको अस्वस्थ प्रतिस्पर्धाको फलस्वरुप एकले अर्कोलाई खुइल्याउने गरी अहिले सञ्चारमाध्यममा एकतर्फी रुपमा समाचार प्रवाह भइरहेका छन् । प्रतिस्पर्धा अस्वस्थ बन्दै गएपछि केही दिनअघि आइजिपी अर्यालले रोल क्रममा रहेका चारै जना डिआइजीलाई प्रहरी प्रधान कार्यालयमा बोलाएर सामूहिक रुपमा हकार्नुपरेको थियो ।

आइजिपी अर्यालले एक डिआइजीले अर्काविरुद्ध उसका गतिविधि नियाल्न सुराकी परिचालन गर्ने गरेको, फोनको विवरण सङ्कलन गर्ने गरेको, सञ्चारमाध्यममा गलत सूचना दिने र आफ्नै लगानीमा अनलाइन सञ्चालन गरी प्रतिस्पर्धीको उछितो काढ्ने गरेको सूचना आफूकहाँ पुगेको भन्दै त्यसो नगर्न चेतावनी दिएका थिए ।

उनले केही व्यक्तिको स्वार्थपूर्तिका लागि यस्ता गतिविधि गर्दा सिङ्गो सङ्गठनकै बदनाम हुने र सङ्गठन कमजोर बन्दै जानेतर्फ डिआइजीलाई सचेत गराएका थिए । अर्यालले यस्तो गतिविधि जारी राखे चारै जनालाई कारबाहीसम्म गर्ने चेतावनी दिए पनि त्यस्ता गतिविधि अझै रोकिएको भने छैन । सो समूहका अन्य डिआइजीले पनि आइजिपी बन्न आफ्नो प्रयास जारी राखे पनि सतहमा एक नम्बरमा रहनुभएका सिलवाल र ३ नम्बरमा रहनुभएका चन्दबीच बढी प्रतिस्पर्धा देखिएको छ ।

हाल केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डिआइजी सिलवाल प्रहरीभित्र इमान्दार र सरल अधिकृतको रुपमा परिचय बनाउन सफल भएको छ । लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत चन्द कार्यक्षेत्रमा नयाँ/नयाँ कार्यक्रम ल्याउने र जोखिम मोल्न सक्ने प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । तर दुवै डिआइजीविरुद्ध पछिल्लो समय विभिन्न आरोप लाग्न थालेको छ । गुनबहादुर थापा भन्ने एक व्यक्तिले आफूसँग अत्यधिक ब्याज लिने गरी ‘मिटर ब्याज’मा डिआइजी सिलवालले लगानी गरेको र सोही कारण आफूले जग्गा जमिन गुमाउनुपरेको भन्दै पत्रकार सम्मेलन नै आयोजना गरे ।