१३ बैशाख २०८१, बिहीबार
Follow Us

एसिया प्यासिफिक सम्मेलनका लागि अतिथि आउने क्रम सुरु

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७५, बिहीबार ०४:४०

काठमाडौं । भोली शुक्रबारदेखि काठमाडौंमा सुरु हुने ‘एसिया प्यासिफिक सम्मेलन’ का लागि विभिन्न देशका सरकार प्रमुख तथा बिशिष्ट अतिथि आउने क्रम शुरु भएको छ । सम्मेलनका भाग लिनका लागि म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सूकी आज काठमाडौं आइपुग्दै छिन् । सूकी विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

त्यस्तै कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि आजै काठमाडौं आइपुग्दैछन् । सम्मेलनका लागि काठमाडौं आउने विभिन्न देशका सरकार प्रमुखसँग पारस्परिक हित र चासोका विविधि विषयमा द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनमा ७ राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख, १० जना पूर्वराष्ट्र र सरकार प्रमुखको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

शुक्रबारदेखि १७ गतेसम्म हुने सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यताको विषयमा केन्द्रित हुने बताईएको छ । सम्मेलन युनिभर्सल पिस फेडरेसन र अन्य राष्ट्रहरुको आर्थिक सहयोगमा हुन लागेको हो ।सम्मेलनको मुख्य एजेन्डा गरिबी, आतंकवाद, खाद्य सुरक्षा, जलवायु परिवर्तन रहनेछ ।

चारदिने सम्मेलनको उदघाटन शनिबार हायात होटलमा हुनेछ । पाहुनाहरुलाई काठमाडौंका हायात होटल, द्वारिका, सोल्टी र याक एन्ड यति होटलमा राख्ने प्रबन्ध मिलाइएको छ । सम्मेलन सोमबार काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न हुनेछ ।