११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए स्वीट्जरल्याण्ड महिला फोरमद्वारा वीर अस्पताललाई ह्वीलचेयर

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७५, बिहीबार १२:३१

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको महिला फोरमले अस्पताल वीर अस्पताललाई ह्वीलचेयर प्रदान गरेको छ । वीर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताललाई फोरमले करिब १ लाख २ हजार मूल्य बराबरको १२ वटा ह्वीलचेयर सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

नेपाल र नेपालीको हितमा आफूलाई सदैव उभ्याउँदै आईरहेको एनआरएनए स्वीट्जरल्याण्डको महिला फोरम र उक्त फोरमको नेतृत्व गरिरहेकी संयोजक शुभ एल्मर लामाको संयोजन र विजया भट्टको पहलमा आर्थिक संकलन गरी १२ वटा ह्वीलचेयर वीर अस्पताललाई प्रदान गरिएको हो ।

वीर अस्पतालमा देशभरबाट उपचारका लागि आउने बिरामीहरुको भीड लाग्ने गर्दछ । तिनै बिरामीहरुको सेवामा अलिकति भए पनि सहयोग पुगोस् भन्ने हेतुले ह्वीलचेयर प्रदान गरिएको बताउँदै एनआरएनए स्वीट्जरल्याण्डको पूर्व उपाध्यक्ष एवं महिला फोरम सदस्य विजया भट्टले आफूहरुले गरेको सहयोग अस्पतालको लागि सामान्य हुन सक्ला तर मानवीय भावना सहित उठेका सहयोगी हातहरुले गरिएका सहयोग बास्तवमै अतुलनीय हुने बताईन । भट्टले भनिन् हामी नेपालीहरु देश छाडेर विदेशका कुनै पनि कुनामा बसिरहँदा पनि हामीलाई नेपाल र नेपाली पन अनि नेपाली मनले सदैब घच्घच्याईरहेको हुन्छ । नेपाल भन्ने बित्तिकै कान चनाखो हुन्छ अनि मन प्रफुल्लित हुन्छ । त्यसैको प्रतिफल होला सायद नेपाल र नेपालीलाई सहयोग गर्न पाउँदा हाम्रो मन हर्षले विभोर हुन्छ भट्टले भनिन् ।

उनले भनिन् गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्ड महिला फोरमले नेपालमा यस प्रकारका सहयोगी हातहरु धेरै ठाउँमा फैल्याईसकेको छ । नेपाल र नेपालीलाई सहयोग गर्न पाउँदा फोरम एकदम खुशी हुन्छ । त्यसमा पनि एनआरएनए महिला फोरम स्वीट्जरल्याण्डकी संयोजक शुभ एल्मर लामा आफैँ एक सामाजिक अभियन्ता र उदार मनकी धनी हुनुहुन्छ । उहाँ कै नेतृत्वमा रहेको हाम्रो महिला फोरमले स्वीट्जरल्याण्डमा विभिन्न कार्यक्रम गर्ने गर्दछ र हरेक कार्यक्रमबाट केही न केही सहयोग रकम संकलन गरेर नेपाल र नेपालीको हितमा लगाईरहेको हुन्छ भट्टले भनिन् ।

उनले भनिन् सोही फोरमको नेतृत्वमा हामी स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुले गरेको केही सहयोगबाट आज हामीले यस नेपालको पहिलो सरकारी अस्पतान बीर अस्पतालका बिरामीहरुको सेवामा सहयोग पुगोस् भनी ह्वील चियर प्रदान गर्ने निर्णय गरी हामीले आज यो कार्यक्रम आयोजना गरेका हौँ । खासमा भन्नु पर्दा हामीले आज गरेको यो सहयोग खासै उल्लेख्य सहयोग होइन तथापि सहयोगी भावनाले गरिने कुनै पनि सामान्य सहयोगले पनि कुनै पनि व्यक्ति वर्ग वा समूहको जीवनमा ठूलो प्रभाव पार्ने गर्दछ । तसर्थ हामी सबैले आ आफ्नो क्षेत्रबाट सामाजिक सेवाको क्षेत्रमा आफूलाई अग्रसर गराउन सक्यौँ भने नै हाम्रो जीवन सार्थक बन्दछ भन्ने मलाई लाग्दछ भट्टले भनिन् ।

कार्यक्रममा बोल्दै वीर अस्पतालका निमित्त निर्देशक डा. सरोज शर्माले गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको महिला फोरमले वीर अस्पताललाई ह्वीलचेयर प्रदान गरेर मानवीय सेवाको क्षेत्रमा ठूलो सराहनीय कार्य गरेको र यस प्रकारको कार्यले बिरामीहरुको लागि सहजता हुने र सबै पक्षलाई सन्तुष्टि प्राप्त हुने भन्दै फोरम तथा सिंगो एनआरएनएलाई अस्पतालको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा उपसचिव टेकराज अर्याल, ई. एन. टि. विभागका डा. जयेन्द्र प्रधानांग, वीर अस्पताल नर्सिड.ग विभाग प्रशासक रिना श्रेष्ठ तथा एनआरएनए सेक्रेटेरिएटका सि.इं.ओ. डा. हेमन्त दवाडी, डाइरेक्टर संगिता अवाले लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा विजया भट्टले एनआरएनए स्वीट्जरल्याण्ड महिला फोरमको तर्फबाट आफू उपस्थित भएर सहयोगी हातहरु अगाडि बढाउन पाएकोमा अत्यन्तै गौरवान्वित भएको बताउँदै उक्त अवसर जुटाउन सहयोग गर्ने एनआरएन सेक्रेटेरियट, वीर अस्पताल नर्सिड. प्रशासक रिना श्रेष्ठ, सिंगो बीर अस्पताल परिवार लगायत उक्त कार्यक्रममा उपस्थित भएर प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुमा एनआरएनए स्वीट्जरल्याण्ड महिला फोरमको तर्फबाट हार्दिक आभार एवं धन्यवाद व्यक्त गरिन् ।