१६ चैत्र २०८०, शुक्रबार
Follow Us

खाल्डा पुर्न सम्मेलन नै आउनुपर्ने !

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७५, बिहीबार १२:३८

काठमाडौं । सर्वसाधारणले बारम्बार गुनासो गर्दा पिच नभएको सडक फेरि एउटा गैर सरकारी संस्थाले आयोजना गर्न लागेको सम्मेलनका लागि टालटुल भएको छ । भोलीदेखि सुरु हुने चारदिने ‘एसिया प्यासिफिक सम्मेलन’का लागि काठमाडौंका विभिन्न स्थानको सडक रातारात पिच तथा टालटुल गरिएको हो ।

कार्यक्रम आयोजना हुने होटल हायात आसपासदेखि चावहिल मित्रपार्क लगायतका स्थानको सडक गएराति टालिएको हो । साथै वाटोको धुलो समेत ब्रुमरले सफा गरिएको छ । सर्वसाधारणले धुलो र हिलोको गुनासो गर्दा पिच नभएको सडक एउटा गैर सरकारी संस्थाको सम्मेलनका लागि टालटुल गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

यसअघि बिमस्टेक सम्मेलनका क्रममा पनि सडकमा रातारात पिच गर्नुका साथै टालटुल गरिएको थियो । त्यसरी गरिएको पिच एक सातापनि टिकेको थिएन । काठमाडौंको धेरै ठाँउका सडकमा खाल्डा भएपनि विशिष्ट अतिथि आउने सडक मात्रै पिच भएकोमा पनि सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।