११ बैशाख २०८१, मंगलवार
Follow Us

विधान संशोधन मस्यौदाको छलफलमा काङ्ग्रेस

नेपालब्रिटेन संवाददाता
१३ मंसिर २०७५, बिहीबार १३:३०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको हो । पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ ।

यही मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएपछि आजको बैठक बोलाइएको हो । मङ्सिर ९ गतेको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो ।

काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि दफावार छलफल गरिने बताउनुभयो । “संशोधित मस्यौदाबाहेक राजनीतिक, आर्थिक र सङ्गठन प्रस्ताव बारेसमेत छलफल हुनेछ,” उहाँले भन्नुभयो । सबै प्रस्तावमाथि छलफल गरेर तोकिएको समयभित्र महासमिति बैठक सक्नेगरी गृहकार्य गरिरहेको उहाँको भनाइ थियो ।

आजको बैठकमा प्रस्तावित विधानबारे केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा बोल्ने नेताहरुले गाउँको कार्यकर्ताको भावनालाई समावेश गरेर विधान संशोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो । काङ्ग्रेस नेता प्रदीप पौडेलले पार्टीमा युवालाई समावेश गर्नेगरी विधान संशोधन गर्नुपर्ने विचार राख्नुभएको थियो । संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।