१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वंशज बाबुमात्र वा आमा पनि प्रष्ट गर्नुपर्ने

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार ०९:५८

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरुले नागरिकताका सम्बन्धमा वंशजको प्रष्ट परिभाषा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले वंशज भनेको बाबुमात्र हो वा आमा पनि हो भन्ने विषयमा कानून बनाउन प्रष्ट हुनुपर्नेमा जोड दिनुभएको हो । संशोधनकर्ता सांसद बिन्दा पाण्डेले नागरिकतामा वंशज विषयमा प्रष्ट हुनुपर्ने बताउनुभयो । “वंशजका आधारमा नागरिकता भनिएको छ, वंशज भनेको बाबु मात्रै हो वा आमा पनि हो, यसको परिभाषा स्पष्ट गर्नुप-यो ।”

नागरिकतासम्बन्धी नीति संविधानसँग बाँझिएको हुनाले संशोधन गर्न जरुरी भएको र अनाथ बालबालिकाका लागि जसले संरक्षण गरेको हुन्छ उसैले नागरिकता दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

संशोधनकर्ता सांसद पवित्रा निरौला खरेलले वंशजको आधारमा नागरिकता दिने भनेर बाबुलाई प्राथमिकता दिने गरेको हुँदा आमालाई पनि त्यस्तो अधिकार दिने खालको कानून बनाउनुपर्ने बताउनुभयो । सांसद मीना पाण्डेले वंशजका आधारमा नागरिकता दिँदा बाबुको पहिचान खुल्न नसकेको भन्ने शब्द हटाउनुपर्ने सुझाव दिनुभयो । सांसद यशोदा गुरुङ सुवेदीले नागरिकताबाट विभेदकारी नीति हटाउनुपर्ने र वंशजको आधार भनेपछि बाबु र आमा दुवैलाई हुनुपर्ने धारणा राख्नुभयो ।

समितिका सभापति शशि श्रेष्ठले दफाबार छलफल गरेर सो विधेयकलाई निष्कर्षमा पु-याउने जानकारी दिनुभयो । तीन दिनदेखि सो समितिमा नागरिकता ऐन संशोधन गर्ने विषयमा छलफल भइरहेको छ । संशोधनका लागि ५५ सांसदले १०२ वटा संशोधन हाल्नुभएको छ ।