१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसङ्घको ‘मास्क मुभमेन्ट’ अभियान

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार १०:००

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले काठमाडौँ उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ । नेविसङ्घले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी (एनसीआइटी) कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएर उक्त अभियानको शुरुवात गरेको हो ।

नेविसङ्घका महामन्त्री कुुन्दनराज काफ्लेले सो अभियानको शुभारम्भ गर्दै धूलोकै कारण उपत्यकामा दैनिक सयौँ मानिस बिरामी हुँदै गएको छ । धूलो हटाउनका लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । “हामीले सरकारसँग केही मागेका छैनौँ, स्वच्छ वातावरणमा बाँच्ने अधिकार राज्यले प्रदान गरोस्,”–उहाँले भन्नुभयो ।

अभियानका संयोजक एवं नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार काठमाडौँ उपत्यकाको वातावरण प्रदूषण अत्याधिक रहेकाले वातावरण प्रदूषण कम गर्न उक्त अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाका सबै क्याम्पस अगाडि र विभिन्न चोकमा यो अभियान सञ्चालन गरिने उहाँको भनाइ छ । आफ्नो माग सुनुवाइ नभए नेविसङ्घले काठमाडौँ महानगरपालिकामा आन्दोलन गर्नेसमेत जनाएको छ ।