१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बालकको अपहरणपछि सार्कीले यसरी गरेका थिए हत्या

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार १३:०४

काठमाडौं । गोङ्गबुका आठ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या आरोपी स्याङ्जा भिरकोटका महेन्द्र सार्कीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध महाशाखाले आज उनलाई थप कारवाहीका लागि वृत्तमा पठाइएको छ ।
गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे अपहरणपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । होटल मालिकसँग तलब र जागिरको विषयमा विवाद हुँदा आवेशमा बालकको हत्या गरेको उनले स्वीकारेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । सार्की कुँवरका सवारी चालक हुन् ।

मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर महेन्द्रले प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका पौने ७ बजे नागार्जुनको जङ्गलमा लगेर घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बिहीबार बालकको शव फेला परेको थियो ।