१३ बैशाख २०८१, बिहीबार
Follow Us

सामाजिक सुरक्षा योजना आगामी आर्थिक वर्षबाट मात्रै

नेपालब्रिटेन संवाददाता
१४ मंसिर २०७५, शुक्रबार १३:१६

काठमाडौं । सरकारले यही मंसिर ११ गते तामझामका साथ सामाजिक सुरक्षा योजना शुभारम्भ गर्‍यो । त्यही दिनदेखि उक्त कार्यक्रम लागू भएको प्रचार पनि गरियो । तर, सो योजना अबको तीन महिनापछिमात्रै लागू हुनेछ भने २०७६ साउनपछि नियुक्त हुने कर्मचारी तथा मजदुर योगदानमा आधारित पेन्सनका लागि योग्य हुनेछन् ।

सामाजिक सुरक्षा योजनामा सहभागी हुन तीन महिनाभित्र निजी प्रतिष्ठान एवं मजदुर दर्ता भइसक्नुपर्नेछ । यो अवधिमा सामाजिक सुरक्षा कोषले अन्य आवश्यक कार्यहरु पनि सम्पन्न गर्नेगरी काम गरिरहेको कोषले जनाएको छ । सबैभन्दा पहिला कोषमा दर्ता हुनुपर्नेछ भने कोषमा योगदान गर्ने रकम जम्मा गर्न सुरु भएपछिमात्रै यो योजना औपचारिक कार्यान्वयनमा कोषका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल बताउँछन् ।

तीन महिनाभित्र कोषमा दर्ता भएका निजी प्रतिष्ठानका मजदुरहरुले सुरुमा दुर्घटना सुरक्षा सुविधामात्रै पाउनेछन् भने अन्य सुविधाका लागि केही समय योगदान गरेको हुनुपर्ने अध्यक्ष दाहाल बताउँछन् । कोषले पेन्सनको सुविधासमेत राखेको छ । तर, २०७६ साउनपछि नियुक्त हुने कर्मचारी तथा श्रमिकमात्रै पेन्सन प्रणालीमा जानेछन् ।

त्यसअघि नियुक्त भइ कार्यरत् अवस्थामा रहेकाहरुको सन्दर्भमा भने छलफल भइरहेको उनले बताए । प्रतिष्ठान एवं मजदुर कोषमा दर्ता भइसकेपछि प्रत्येक मजदुरले सामाजिक सुरक्षा कोषबाट एउटा नम्बर प्राप्त गर्नेछन् । एक प्रतिष्ठानबाट अर्को प्रतिष्ठानमा गएपनि व्यक्तिको उही नम्बरमा रकम जम्मा गर्न मिल्नेछ । तीन महिनाको अवधिमा कोषको संरचना परिमार्जन गर्नुपर्ने भएकाले त्यसको तयारी गरिरहेको पनि कोषले जनाएको छ ।