October 26, 2020
12:16 PM | 6:01 PM

प्रमुख आयुक्त लोकमानको सक्कल कागजात सर्वोच्चमा

  23/09/2016 मा प्रकाशित

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा आज पठाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषद्को कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात खामबन्दी गरेर पठाएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को कार्यालयले यसअघि भूकम्पमा परी कागजात हराएको भनी जवाफ पठाएको थियो । सर्वोच्चले सरकारको उक्त जवाफ गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको र एक हप्ताभित्र पठाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशबमोजिम सरकारले आज आयोग प्रमुख कार्की नियुक्तिको सक्कल फाइल पठाएको हो ।

आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।

अधिवक्ता अर्यालले आयोगका प्रमुख आयुक्त कार्कीविरुद्ध पुनः पुनरावलोकनको निवेदन हाल्नुभएको थियो । सोही पुनरावलोकनमाथि सुनवाई हुँदा सर्वोच्चले नियुक्त गर्दाको सक्कल कागजात माग गरेको थियो ।

प्रतिक्रिया