७ बैशाख २०८१, शुक्रबार
Follow Us

जेनेभा च्यालेञ्जमा नेपालकी सचिना दोस्रो स्थानमा

नेपालब्रिटेन संवाददाता
१५ मंसिर २०७५, शनिबार १४:१२

चितवन । स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीको बहुआयामिक प्रतिस्पर्धाको रुपमा मानिएको जेनेभा च्यालेञ्ज २०१८ मा सहभागी भरतपुर महानगरपालिका–२ क्षेत्रपुरकी सचिना पौडेलको नेतृत्वको समूह दोस्रो भएको छ । सन् २०१४ देखि प्रत्येक वर्ष आयोजना गरिने ‘द एडभान्सिङ् डेभलप्मेन्ट गोल्स इन्टरनेशनल’ नामक उक्त प्रतिस्पर्धा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा हो ।

सचिनाका पिता चिन्तामणी पौडेलका अनुसार बङ्गलादेशको ब्राक विश्वविद्यालयमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर (एम.पी.एच.) अध्ययनरत उहाँको समुहमा बङ्गलादेशका तीन साथी पनि रहेका थिए । सो समूहले एशिया महादेशको प्रतिनिधित्व गरेको थियो । उहाँको समूहले शहरीक्षेत्रमा हरियाली भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

पौडलका अनुसार पी वान र पी टु गरी दुई मोडेलको उक्त परियोजना सञ्चालनका लागि मोबाइल एप्ससमेत विकास गरिएको र शहरमा उत्पादन हुने फोहर व्यवस्थापनलाई समेत साथसाथ लगिएको छ ।

परियोजनामा बङ्गालादेशको ढाका शहर जस्तै बढी जनघनत्व भएका र खेतीका लागि जमीन नभएका शहरी क्षेत्रमा ढलान गरिएको घरको छानाको प्रयोगबाट तरकारी उत्पादन गर्ने एवं त्यसको बजारीकरणसमेत गरिएको छ ।

द जेनेभा च्यालेञ्ज नाम दिइएको यस प्रतिस्पर्धा कोफे अनान फाउण्डेशन, द ग्राजुयट इन्स्टिच्यूट जेनेभा, सेन्टर फर इन्टरनेशनल इन्भाइरोमेन्ट स्टडिज र एसडीएसएन युथले सञ्चालन गरेको हो । विश्वभरका स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले तीनदेखि पाँच जनाको समूह बनाएर प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था छ ।

यस पटकको प्रतिस्पर्धाका लागि विश्वका विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर पढ्दै गरेका विद्यार्थीबाट लिइएको आवेदनमध्ये छनोट गर्दै अन्तिम प्रतिस्पर्धामा सबै महादेशको प्रतिनिधित्व हुने गरी पाँच समुह छनोट गरेको थियो ।

सो प्रतिस्पर्धामा एशियाका तर्फबाट सचिनाको नेतृत्वको समूह द्धितीय भएको हो । प्रतिस्पर्धामा उत्तर अमेरीकाको कोलम्बिया विश्वविद्यालय प्रथम भएको पौडेलले बताउनुभयो । प्रतियोगिता यसै साता भएको थियो ।