१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एन्फा अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
७ आश्विन २०७३, शुक्रबार १५:३३

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आगामी कात्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज पत्रकार सम्मेलन गर्दै उहाँले आफ्नो जीवन फुटबलमा व्यथित गरेको स्मरण गर्दै फुटबल खेलको विकास र विस्तारका लागि नियमनकारी निकायको कार्यकारी बन्ने इच्छा रहेको भनाइ व्यक्त गर्नुभयो । कार्यक्रममा कार्यकारी अध्यक्ष श्रेष्ठसँगै वरिष्ठ उपाध्यक्ष पदका लागि मणि कँुवरले पनि उम्मेदवारी दिने घोषणा गर्नुभयो । त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले यसअघि नै उपाध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन गर्न भनेपछि आगामी एकवर्षे कार्यकालका लागि चुनाव हुँदैछ । केही समयअघि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको मनाङ–मस्र्याङ्दी क्लबका अध्यक्ष टासी घलेले आज पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभयो । उहाँको फिर्तासँगै अध्यक्ष पदमा अहिलेसम्म औपचारिक रुपमा कार्यवाहक अध्यक्ष श्रेष्ठ एक्लो उम्मेदवार हुनुहुन्छ ।

एन्फाको निर्वाचनमा ६९ मतदाता हुनेछ । एन्फाका ४५ जिल्ला शाखाका अध्यक्ष, रेफ्री सङ्घ, फुटबल खेलाडी सङ्घ, महिला फुटबल सङ्घ, ए डिभिजन, बी डिभिजन, सी डिभिजन क्लवका प्रतिनिधिसँगै प्रशिक्षक सङ्घका प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।