१५ चैत्र २०८०, बिहीबार
Follow Us

पोर्चुगलमा ज्ञान महायज्ञ

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७५, शनिबार २०:५१

लिस्बन- सत्य सनातन धर्मका प्रवर्द्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ। द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो।

महायज्ञका प्रमुख वाचक योगी श्रीओम सूर्य शिवले शुद्धज्ञान, वेद, श्रीमद्भागवत महापुराण, सूर्य पुराण, शिव पुराण, जीवनको सत्यता, आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचन दिनेछन्। महायज्ञमा दैनिकजसो पूजा, जलधारा, पाठ, हवन, ध्यान, प्रवचनका साथै भजन कीर्तन हुने बताइएको छ।

विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले ज्ञान महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले जानकारी दिए। महायज्ञबाट सङ्कलन भएको रकम पोर्चुगल र नेपालमा आश्रम बनाउने योजनासमेत रहेको उनले बताए। योगी श्रीओमका अनुसार महायज्ञमा पोर्चुगलमा रहेका नेपालीसहित विदेशीको समेत उपस्थिति रहनेछ।

बिहीबारबाट शुरु भएको महायज्ञ डिसेम्बर ५ सम्म सञ्चालन हुनेछ। योगी श्रीओम सूर्य शिवले यसअघि नेपालसहित भारत, अमेरिका, जापान, जर्मनी, स्वीडेन, फ्रान्स, स्पेन, बेल्जियमलगायतका विभिन्न मुलुकमा सत्य सनातन धर्मसम्बन्धी विभिन्न धार्मिक कार्यक्रम सम्पन्न गरिसकेका छन्। रासस