१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेनन्

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७५, आईतवार ०५:१९

काठमाडौं । सडकले नछोएको हुम्लामा खाद्यान्न ढुवानी गर्न हेलिकप्टर सञ्चालकले मानेका छैनन् । खाद्य संस्थानले ढुवानीका लागि आहवान गरेको टेन्डरमा कुनै पनि कम्पनीले भाग लिएनन् । हुम्लाको सिमकोट सदरमुकामसम्म खाद्यान्न ढुवानी गर्न खाद्य संस्थानले तीन पटक टेन्डरका लागि सूचना प्रकाशित गरे पनि उनीहरूले इच्छा नदेखाएका हुन् ।

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार पहिलो टेन्डरको क्रममा दुई कम्पनीले आवेदन दिएका थिए । ती कम्पनीहरूले ढुवानी खर्च अस्वाभाविक राखेका थिए । अस्वाभाविक मूल्यकै कारण आवेदन रद्द भएको थियो । ‘त्यसपश्चात् पुनस् दुई पटक सूचना प्रकाशित गरियो,’ प्रवक्ता सापकोटाले भने, ‘कम्पनीहरूले इच्छा देखाएनन् । ढुवानीका लागि आवेदन नै दर्ता गराएनन् ।’

सापकोटाका अनुसार संस्थानले गत वर्षकै ढुवानी दर सुर्खेतबाट हुम्लासम्म प्रतिकिलो १ सय ५ रुपैयाँ र नेपालगन्जबाट १ सय १४ रुपैयाँ राखेर पहिलो सूचना असार २६ गते प्रकाशित गरेको थियो । ३० दिनको अवधि तोकिएको उक्त सूचनामा तारा र समिट एयरले आवेदन दिएका थिए ।

ती एयरलाइन्सहरूले सुर्खेतबाट हुम्लासम्म १ सय १३ रुपैयाँ र नेपालगन्जबाट १ सय २३ रुपैयाँ प्रस्ताव गरेका थिए । ढुवानी खर्च अस्वाभाविक भएको जनाउँदै संस्थानले पुनस् १५ दिनको अवधि दिएर भदौ १८ गते टेन्डर आहवान गरेको थियो । दोस्रोमा कुनै पनि एयरलाइन्सले आवेदन दिएनन् । त्यसपश्चात् संस्थानले पुनस् कात्तिक ९ गते ७ दिनको अवधि दिएर तेस्रो पटक सूचना प्रकाशित गरेको थियो । कम्पनीहरूले तेस्रो पटक सूचना प्रकाशित गर्दा पनि ढुवानी गर्न इच्छा देखाएनन् ।