१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीलाई अवार्ड, दर्जनौं जोडीलाई आशिर्वाद

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७५, आईतवार १३:४२

काठमाडौं । दुई दिनसम्म काठमाडौंमा चलेको एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिडरसिप एन्ड गभर्नेन्स अवार्ड प्रदान गरिएको छ । विवादास्पद आयोजक संस्था युनिभर्सल पिस फेडेरेशनले समापन समारोहमा प्रधानमन्त्री ओलीलाई एक लाख डलरको अवार्ड प्रदान गरेको हो । सो संस्थाकी प्रमुख हाक जा हन मुनले अवार्ड र सम्मानपत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिन् ।

पुरस्कार पाएपछि ओलीले सरकारलाई त्यो रकम हस्तान्तरण गर्ने बताएका थिए । यसैबीच, एसिया प्यासिफिक समिटको समापन अघि पीस एन्ड फेमिली फेस्टिबल सेरिमोनी अन्र्तगत हाक जान मुनले आज दर्जनौ दम्पति तथा जोडीलाई आशिर्वाद दिइन् । आशिर्वाद लिनेहरुमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत थिए ।

आशिर्वाद लिन देशभरका मेयर तथा उपमेयरलाई निम्तो दिइएको भए पनि केही मेयर–उपमेयरमात्रै आर्शिवाद लिन उपस्थित भएका थिए । मेयर–उपमेयरका जोडीहरु सरकारी परिचयपत्र सहित कार्यक्रममा सहभागी भएका थिए । आर्शिवाद दिनुअघि आर्शिवाद लिने जोडीहरुलाई होली वाइन भनिने जुस पिउन दिइएको थियो । मुनबाट आर्शिवाद लिन प्रधानमन्त्री केपी शर्मा ओलीका दम्पत्तिलाई पनि आयोजकले निम्तो दिए पनि प्रधानमन्त्री दम्पति उपस्थित भएनन् ।