१३ बैशाख २०८१, बिहीबार
Follow Us

दाङमा गोरुको विषयमा झडप

sarusaru
१७ मंसिर २०७५, सोमबार ०६:०६

गोरु किन्ने समुह र गाउँलेहरुका बीचमा विवाद बढेपछि दाङको लमही नगरपालिका वडा नं ८ को सतवरिया र राजपुर गाँउपालिकाको सिमानामा आइतबार राती सवा ९ बजे झडपको स्थिती उत्पन्न हुनुका साथै आधा दर्जनबढि मोटरसाईकलमा आगजनी भएको छ ।

सोमवार बिहान प्रहरीले गाउँमा जलाइएका ७ र २ मोटरसाईकल खरकट्टीमा सकुशल अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ जसमध्ये ७ मोटरसाइकल पूर्णरूपमा जलेका छन्।

प्रहरीले रातको समयमा खरकट्टीमा लुकेर बसेका लमहीका युवा अर्जुनकुमार गुप्तालाई घटना संलग्न भएको आंशांकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

स्थानीयका अनुसार विवादको कारण यस्तो छ

स्थानियहरूले गोरू तस्करीको आशंकामा गोरू लानेहरूलाई सोधपुछ गर्ने क्रममा विवाद बढेपछि उक्त घटना घटेको हो।

स्थानीयका अनुसार गएराति केही युवाहरु गोरु डोर्याउँदै राजपुर गाउँपालिका हुँदै जंगलको बाटो जाँदै गरेको देखेपछि स्थानीयले आशंका गर्दै कहाँ लैजान लागेको भन्ने सोधपुछ गर्न थाले । गोरु लैजाँदै गरेका व्यक्तिहरुले किनेर घर लैजान लागेको भन्ने जवाफ फर्काए ।

त्यही मध्येका एकजना मदिरा सेवन गरेका एक स्थानिय युवाले ‘गाई गोरुको तस्करी गरि विदेश पुर्‍याउन पाइदैन’ भने। त्यसपछि गोरु लैजाँदै गरेका व्यक्तिहरुले आफ्ना साथी र प्रहरीलाई खवर गरे ।

‘लमही क्षेत्रबाट गुण्डाहरु हतियारसहित हल्ला गर्दै गाउँमा पसे’ गम्दीका एकजना स्थानीयले भने, ‘उनीहरु मोटरसाईकलमा हतियार देखाउँदै गोरु लैजान नदिने को हो? भन्दै धम्काउन खोजेपछि आक्रोशित बनेका गाँउलेले रातको समयमा गाउँमा नचिनेका युवाहरु पसेर धम्काउन खोजेको भन्दा सबै गाउँलेहरु घरेलु हतियारसहित छिनमै भेला भए ।’

गाउँलेहरुले ती धम्काउने युवाहरुको सामुहिक रुपमा प्रतिकार गरे । सयौं गाउँलेहरु आएपछि उनीहरु मोटरसाईकल सहित भागेको उनको भनाइ छ ।

तर उनका अनुसार उक्त जंगलको बाटो हुँदै झुलुङ्गे पुल सम्ममात्र मोटरसाइकल जाने बाटो छ। जान त्यो भन्दा अगाडि मोटरसाईकल लैजाने बाटो छैन् ।

त्यसपछि मोटरसाईकलमा आएका युवाहरु ज्यान जोगाउन मोटरसाईक छोडेर राप्ती नदीमा हाम फालेर भागेका थिए।

त्यसपछि लखेट्दै पुगेको गाउँलेहरुले उनीहरुले प्रयोग गरेका मोटरसाईकलमा आगजनी गरेर ध्वस्त पारिदिएको ती स्थानियले बताए ।

घटनाबारे बोल्दै स्थानिय विन्तिराम यादवले सुरुमा गुण्डाहरु गाउँमा पसेर गाउँलेहरुलाई कुटपिट गर्दे उत्तेजित पार्ने काम भएपछि सारा गाउँलेले उनीहरुलाई लखेटनुका साथै मोटरसाईकलमा आगजनी गरेको बताए ।

‘गोरु तस्किरी गरि बंगलादेश पुगाएर बेच्ने दलालहरुले गुण्डाहरु बोलाएर गाउँलाई कुट्ने र लुट्ने गरेपछि सबै गाउँलेले त्यसको प्रतिकार गरेका हुन,’ यादवले भने ।

उनले त्यसमा स्थानीय प्रहरी प्रशासन र केही स्थानीय दलालहरुको समेत मिलेमतो रहेको यादवले दाबी गरे ।

‘प्रहरी प्रशासनकै सेटिङमा गोरु तस्करी हुँदै आएको सत्य हो,’ विन्तिराम यादवले भने ‘ त्यसमा करोडौंको चलखेल छ ।’

आइतवार रातिपनि गोरु लैजाँदै गरेका मानिसहरुलाई गाउँलेले सोधपुछ गर्दा उनीहरुले नै पहिला निहु खोजेको भन्ने जानकारी आफु्लाई गाउँलेहरुले दिएको यादवले बताए । तर उनले आफु भने घटनाको प्रत्यक्षदर्सी आफु नभएको र त्यसमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।

‘युवाहरु हतियार लिएर गाउँमा पसेर र गोरु रोक्ने को हो? भन्दै कुटपिट र लुटपिट गर्नुको परिनामले घटना हु्न गएको हो,’ यादवले सेतोपाटीलाई भने ।

गाउँमा आएर बाहिरका गुण्डाहरुले धम्काउने र कुट्न थालेपछि गाउँलेहरुले उनीहरुलाई लखेटेको भन्ने आफुले जानकारी पाएको यादवले बताए ।

भाग्ने क्रममा एकजना युवालाई गाउँलेहरुले नियन्त्रणमा लिएर कुटपिट गर्न खोज्दा राति नै त्यहाँ पुगेको गढवाको प्रहरीले ती युवाको उद्धार गरेको यादवले जानकारी दिए ।

‘प्रहरी समयमै नपुगेको भए आक्रोसित गाउँलेहरुले ती युवालाई कुटीकुटी मारिदिने खतरा उत्पन्न हुन सक्थ्यो, समयमै प्रहरी पुगेर ती युवाको उद्धार गर्न सक्यो,’ यादवले भने ।

प्रहरी पनि गोरु तस्करहरुकै समर्थनमा त्यहाँ आएको यादवको आरोप छ ।

अपराधिक व्यक्तिले आगोजनी गरे – एसपी पाण्डे

आधा दर्जन मोटरसाईकलहरुमा आगजनी भएको विषयलाई प्रहरीले भने अपराधिक कार्य भनेको छ ।

दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले केही अपराधिक व्यक्तिहरुले ६ वटा जति मोटरसाईकलमा आगजनी गरेको जानकारी दिए ।

‘पुरै गाउँले नभनौं, केही अपाराधिक व्यक्तिले आँफै न्यायाधिस बन्ने र कानुन उलंघन गर्ने कार्य गरेका छन्,’– एसपी पाण्डेले भने ‘उनीहरुको पहिचान भइसकेको हुँदा खोजी भइरहेको छ ।’

उनले कुनैपनि कमजोरी कसैले गरेको भए कानुन हातमा लिनुको सट्टा प्रहरीलाई खवर नगरी कानुन हातमा लिने कार्य स्थानीय केही अपराधिक व्यक्तिले गरेको बताए ।

‘मैले बुझेको केही बच्चाहरुले डोर्याएर ७-८ वटा गोरुहरु लैजाँदै गर्दा स्थानीयले रोक्न खोजे पछि विवाद उत्पन्न भएको हो,’ एसपी पाण्डेले भने ।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।