१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महासङ्घद्वारा भत्र्सना

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७५, सोमबार १२:४७

काठमाडौं । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा महासङ्घ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल र सचिव जगदीश खनाललाई नेपाली सेनाहरूले गरेको दुव्र्यहारको भत्र्सना गरेको छ ।

महासङ्घका महासचिव रमेश बिष्टद्वारा आज जारी विज्ञप्तिमा नेपाली सेनाले पत्रकारद्वयलाई लछारपछार गर्दै उनीहरूको क्यामेरा र मोबाइल नियन्त्रणमा लिनाका साथै भिजुअल मेटाएको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घ नुवाकोट शाखाका अनुसार यही मङ्सिर १३ गते नुवाकोटको बट्टारस्थित नेपाली सेनाको तालीम केन्द्रअगाडि भनेको ठाउँमा मोटरसाइकल नरोकेको भन्दै सचिव जगदीश खनाललाई सेनाले दुव्र्यवहार गरी सडकमा लछारपछार गरेका थिए । सो खबर पाएपछि घटनास्थलमा पुगेर सचिवमाथि भएको ज्यादतीको फोटो खिच्ने क्रममा अध्यक्ष खनाल तथा उनको क्यामेरा र मोबाइललाई नियन्त्रणमा लिएको विज्ञप्तिमा जनाएको छ ।

राष्ट्रको सुरक्षाको जिम्मेवारी बहन गर्ने नेपाली सेनाले पत्रकारमाथि गरिएको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै महासङ्घले सेनाको यस्ता कार्यले पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने महासङ्घको भनाइ छ ।

घटनामा संलग्नमाथि कारवाही गरी पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग महासङ्घले मागसमेत गरेको छ ।