१२ बैशाख २०८१, बुधबार
Follow Us

सवारीसाधनमा निर्मलाको फोटो टाँसेर न्यायको माग

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७५, सोमबार १२:५३

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै संघर्ष गरिरहेका अभियानकर्ताले पोस्टर बनाएर ल्यापटप, झोला, ज्याकेट तथा सवारी साधनमा टाँस्ने अभियान थालेका छन् । उनीहरुले सडक किनार र बिजुलीका पोलमा टाँसिएका तस्बिर सरकारले च्यातेपछि नयाँ शैली अपनाउदैं काठमाडौंको नयाँ बसपार्कबाट बाहिरिने सवारी साधनमा निर्मलाको फोटो सहितको फोटो टाँसेर न्यायको माग गरेका हुन्।

उनीहरुले नयाँ बसपार्कबाट देशका विभिन्न ठाउँमा पुग्ने बस तथा काठमाडौं उपत्यकाभित्र मात्रै चल्ने गाडीहरुमा पनि पोस्टर टाँसेका छन् । सामाजिक सुरक्षा कार्यक्रम घोषणाअघि प्रधानमन्त्रीको फोटो अंकित पोस्टर काठमाडौंको सडक किनारामा टाँसिएका थिए। पोस्टरमा नयाँ युगको सुरुवात लेखिएको थियो।

त्यसैको अर्को दिन निर्मलाका निम्ति न्यायका अभियानकर्ताहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ उल्लेखित उस्तै ढाँचाको पोस्टर बनाएर सडक छेउछाउ टाँसेका थिए। त्यस्ता पोस्टर देशका अन्य शहरमा पनि टाँस्न थालिएको छ। तर, सरकार भने पोस्टरप्रति असहिष्णु देखिएको छ। उसले त्यस्ता पोस्टर टाँस्न थालेपछि पछिल्ला दिनमा नयाँ शैली अपनाउन थालिएको हो।