१२ बैशाख २०८१, बुधबार
Follow Us

नेकपाको प्रदेश कमिटीले पूर्णता पायो

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७५, सोमबार १३:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरे पनि नामावली सार्वजनिक गरेको थिएन । पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेर नामावली आज सार्वजनिक गरेका हुन् ।

पाँच वटा प्रदेश कमिटीमा साविक एमालेको र कर्णालीमा साविक माओवादीको बहुमत छ । प्रदेश १ मा नेकपाले २०७ सदस्यीय कमिटी गठन गरेको छ । जसमा पूर्व एमालेका १२२ र पूर्व माओवादीका ८५ सदस्य छन् । त्यस्तै, प्रदेश २ मा बनाइएको २१५ सदस्यीय कमिटीमा पूर्व नेकपा एमाले र माओवादीका समान १०६ जना छन् ।

प्रदेश ३ मा २१७ सदस्यीय कमिटी बनाइएको छ । जसमा पूर्व एमालेका ११६ र पूर्व माओवादीका १ सय १ जना छन् । १ सय ८७ सदस्यीय गण्डकी प्रदेश कमिटीमा पूर्व एमालेका १ सय २ र पूर्व माओवादी केन्द्रका ८५ सदस्य मनोनित भएका छन् । प्रदेश ५ मा गठित २ सय ३ सदस्यीय कमिटीमा पूर्व एमालेका १ सय ६ र पूर्वनेकपा माओवादी केन्द्रका ९७ सदस्य छन् ।

१७५ सदस्यीय कर्णाली प्रदेश कमिटीमा पूर्व एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना सदस्य समावेश गरिएको छ । सुदूरपश्चिम कमिटी १८३ सदस्यीय बनाइएको छ । साविक एमालेबाट सय जना र माओवादी केन्द्रबाट ८३ जनालाई कमिटीमा राखिएको हो ।