१३ बैशाख २०८१, बिहीबार
Follow Us

एक नेपाली एक फलफूल’ अभियानमा २९ लाख बिरुवा रोपिए

sarusaru
१८ मंसिर २०७५, मंगलवार ०२:१४

काठमाडौँ । ‘एक नेपाली एक फलफूल’ को बिरुवा रोपण अभियानअन्तर्गत करीब २९ लाख फलफूलका बोटबिरुवा रोपिएका छन् । देशलाई फलफूलमा आत्मनिर्भर बनाउन सञ्चालन गरिएको अभियानमा गत जेठदेखि भदौसम्म २८ लाख ९० हजार ९१९ विभिन्न जातका फलफूल सहितका बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्ववातारण दिवसका अवसरमा गत जेठ २२ गते सिंहदरबारमा एभोकाडो र लिची रोपेर अभियानको शुरुआत गरेका थिए ।

अभियानका क्रममा सबभन्दा बढी कागती पाँच लाख चार हजार ४९४ र कम भुइँकटहर पाँच वटा मात्र रोपिएका छन् । कागतीपछि अलैँची चार लाख ६९ हजार १५०, सुन्तला तीन लाख ३९ हजार ८३८, आँप दुई लाख ५९ हजार ३६५, लिची ८८ हजार ६३४ र अलैँची ४६ हजार ९१५ फलफूलका बिरुवा रोपिएका छन् ।

यस्तै अञ्जिर ३५, खुरपानी ८६८, आरुबखडा ९७२ र जापानी कटुस एक हजार २८० रोपिएका छन् । सहसचिवसमेत रहनुभएका कुँवरका अनुसार रोपिएकामध्ये अन्य फलफूल तीन लाख ५४ हजार ९३२ र विभिन्न बिरुवा पाँच लाख ७४ हजार १८० रहेका छन् । सबभन्दा बढी गण्डकी प्रदेशमा नौ लाख ४३ हजार १३७, प्रदेश नं ५ मा ६ लाख ५८ हजार ८४३, प्रदेश नं ३ मा तीन लाख ६७ हजार ६८७ फलफूल र कर्णाली प्रदेशमा तीन लाख ३६ हजार ५७४ बिरुवा रोपिएका छन् ।

यस्तै सबभन्दा कम प्रदेश नं २ मा एक लाख ७१ हजार १९६, प्रदेश नं ७ मा दुई लाख तीन हजार २६६ र प्रदेश नं १ मा दुई लाख १० हजार २२९ बिरुवा रोपिएका छन् । अभियानअन्तर्गत नेपाली सेनाले ४१ हजार ७८१, नेपाल प्रहरीले ३४ हजार १०३, सशस्त्र प्रहरी बलले २४ हजार ७३७ र बंैक वित्तीय संस्था एवम् सार्वजनिक संस्थानले २५ हजार ४०० बिरुवा रोपेका छन् ।

मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत झवीन्दप्रसाद पाण्डेयले सबभन्दा धेरै बिरुवा रोप्ने लमजुङ जिल्ला उत्कृष्ट भएको बताए । उनका अनुसार लमजुङले चार लाख नौ हजार ९१६ बिरुवा रोपेको छ । लमजुङपछि रोल्पाले दुई लाख १३ हजार ५१५, पर्वत एक लाख ७० हजार ९७२, कास्कीले एक लाख ३२ हजार ८५ र उदयपुरले एक लाख आठ हजार ४४६ बिरुवा रोपे ।

सबभन्दा कम फलफूलका बिरुवा रोप्ने बैतडी जिल्ला रहेको छ । बैतडीले १८० मात्र बिरुवा रोपेको छ । त्यसपछि सल्यानले ३१५ मात्र बिरुवा रोपेको छ । मन्त्रिपरिषद् कार्यालयले उत्कृष्ट बिरुवा रोप्ने पाँच जिल्लालाई पुरस्कृतसमेत गर्ने भएको छ ।

स्थानीय तहतर्फ उत्कृष्ट हुनेमा गाउँपालिकामा कास्कीस्थित अन्नपूर्ण गाउँपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेका छन् । अन्नपूर्ण गाउँपालिकाले ६३ हजार ९५० बोटबिरुवा, तिलोत्तमा नगरपालिकाले २७ हजार ७०० बिरुवा रोपेका छन् । तिलोत्तमा नगरपालिकाले नगरभित्रका जन्मिएका मानिसलाई जन्मदिनका अवसरमा बोटबिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ ।

स्याङ्जाको कालीगण्डकी नगरपालिकाले आफ्नो नगरलाई कागतीमय बनाउने अभियानमा लागेको शाखा अधिकृत पाण्डेयले बताए । कालीगण्डकीले २० हजार कागतीका बिरुवा रोपेको छ ।

शाखा अधिकृत पाण्डेयले रोपिएका बिरुवाको संरक्षण कृषि विकास मन्त्रालय, वन तथा वातारण मन्त्रालय र सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको बताए ।

मन्त्रिपरिषद्को कार्यालयले हिउँद महीनामा रोपिएका बिरुवाको विवरण वैशाखमा पठाउन निर्देशन दिएको छ । अभियानअन्तर्गत अहिले हिउँद महीनामा हुने फलफूलका बिरवा रोपिरहेका छन् । सरकारले तीन वर्षभित्रमा फलफूलमा आत्मनिर्भर बनाउने अभियानका साथ ‘एक नेपाली एक फलफूल’ अभियान सञ्चालन गरेको हो ।
डिसी नेपाल